गण्डकी प्रदेशमा १९९ कोरोना सङ्क्रमित, १६ निको भए
कास्की, ३२ जेठ/ गण्डकी प्रदेशको नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लामा आज थप दुई जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले बिहान विज्ञप्ति जारी गरी देवचुली नगरपालिका स्थायी ठेगाना भई सोही पालिकाको क्वारेन्टिनमा रहेका वर्ष २३ र ३२ का दुई पुरुषमा सङ्क्रमण पुष्टि भएको जनाएको छ । यससँगै हालसम्म प्रदेशमा सङ्क्रमितको सङ्ख्या १९९ पुगेको छ ।
सङ्क्रमित दुवै जनालाई रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसन कक्षमा उपचारका लागि लैजाने तयारी भइरहेको निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो । स्याङ्जामा ६०, नवलपरासी बर्दघाट सुस्तापूर्वमा ४५, बागलुङमा ४०, पर्वतमा २६, गोरखामा १५, कास्कीमा पाँच, तनहुँमा चार, म्याग्दीमा तीन र लमजुङमा एक जना सङ्क्रमित छन् ।
१६ जना निको भए
प्रदेशमा अहिलेसम्म १६ कोरोना सङ्क्रमित अस्पतालमा उपचारपछि निको भएर घर फर्किएका छन् । शनिबार नवलपरासीस्थित मध्यविन्दु अस्पतालको आइसोलेसन कक्षमा उपचाररत कावासोती नगरपालिका–१२ का २६ वर्षका एक पुरुष निको भई अस्पतालबाट डिस्चार्ज गरिएको निर्देशनालयले जनाएको छ ।
त्यसैगरी बागलुङको धवलागिरि अस्पतालमा उपचाररत तमानखोला गाउँपालिका–३ का २१ वर्षका दुई पुरुष निको भई अस्पतालबाट डिस्चार्ज गरिएको निर्देशक शर्माले जानकारी दिनुभयो । काठमाडौँस्थित हेम्स अस्पतालमा उपचार गरिरहेका पोखरा महानगरपालिका–८ का ६० वर्षका एक पुरुष र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कोरोनाको सङ्क्रमण पुष्टि भई उपचार गराइरहेका गोरखा जिल्ला आरुघाट गाउँपालिका–२ का २५ वर्षका एक पुरुष निको भई अस्पतालबाट डिस्चार्ज भएको निर्देशनालयले जनाएको छ ।
स्याङ्जाका एक सङ्क्रमितको भने पोखरामा उपचारको क्रममा गत हप्ता मृत्यु भएको थियो । प्रदेशमा आठ हजार १५० को पिसीआर विधिबाट कोरोना परीक्षणका लागि स्वाब लिइएकामा पाँच हजार ४३१ को नतिजा नेगेटिभ आएको छ । स्वाब लिइएकामध्ये दुई हजार ५२२ को नतिजा आउन बाँकी रहेको बताइएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस