गुल्मीमा पिसिआर प्रयोगशाला स्थापना हुने
गुल्मीमा कोरोना परीक्षण गर्न पिसिआर ल्याब स्थापना गरिने भएको छ । जिल्लाबाट स्वाब सङ्कलन गरी पठाउँदा रिपोर्ट आउन ढिलाइ भएपछि जिल्लामा सो प्रयोगशाला स्थापना गर्ने निर्णय गरिएको जनाइएको छ । यसैगरी सङ्क्रमितलाई उपचार गर्न ५० श्ययाको आइसोलेशन हाउस पनि स्थापना गरिने भएको छ । शनिबार बसेको जिल्लास्तरीय विपद् व्यवस्थापन समितिले प्रयोगशाला र आइसोलेशन सञ्चालन गर्ने निर्णय गरेको हो । प्रयोगशाला तथा आइसोलेशन सञ्चालनका लागि गत हप्ता गणेश श्रीपालीको संयोजकत्वमा अध्ययन कार्यदल गठन गरिएको थियो । सो कार्यदलले यही जेठ २९ गते प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मालाई प्रतिवेदन बुझाएको थियो । कार्यदलको प्रस्तावअनुसार नै महिला विकास कार्यालयमा प्रयोगशाला सञ्चालन गर्ने र त्यसको सम्पूर्ण व्यवस्थापन गुल्मी अस्पतालले गर्ने निर्णय भएको संयोजक श्रीपालीले जानकारी दिनुभयो । प्रयोगशाला सञ्चालनका लागि पिसिआर मेसिनसहित आवश्यक उपकरण खरिद गर्न तत्काल कार्यविधि निर्माण गर्ने र सबैसँग सहयोगका लागि अनुरोध गर्ने निर्णय समितिको बैठकले गरेको उहाँले जानकारी दिनुभयो ।
रेसुङ्गा नगरपालिकाले व्यवस्थापन गर्ने गरेर आइसोलेशन हाउस बनाउने निर्णय गरिएको धुर्कोट गाउँपालिका अध्यक्ष तथा समिति सदस्य भूपाल पोख्रेलले बताउनुभयो । यसका लागि महेन्द्र मावि, रेसुङ्गा बहुमुखी क्याम्पस र शिक्षा कार्यालयको नाम प्रस्ताव गरिएको छ । दुई निर्वाचन क्षेत्रमा दुई शववहान खरिद गर्ने निर्णय भएको छ भने शव व्यवस्थापनस्थल सम्बन्धित स्थानीय तहले चाहेको स्थानमा बनाउने निर्णय भएको उहाँले जानकारी दिनुभयो । प्रजिअ शर्माले कोरोना सङ्क्रमणको नियन्त्रण र रोकथामसँगै बर्खा शुरु भएकाले मनसुन प्रतिकार योजना निर्माण र तयारी तत्काल गर्न स्थानीय तहलाई अनुरोध गर्नुभयो । जिल्ला समन्वय प्रमुख लक्ष्मण पराजुलीले ल्याब खरिद र आइसोलेशन सञ्चालन अहिलेको अपरिहार्यता भएकाले सबैलाई सहयोग गर्न आग्रह गर्नुुभयो । रेसुङ्गा नगरपालिकाका प्रमुख डिल्लीराज भुसालले रेसुङ्गा नगरपालिकालाई सबै परिस्थितिको व्यवस्थापनमात्रै नभएर आर्थिकरुपमा सहयोग गर्ने जानकारी दिनुभयो ।
गुल्मी अस्पतालका प्रमुख डा उत्तम पच्याले ल्याब सञ्चालन र आइसोलेशनको विषय निकै चुनौतीपूर्ण भएको बताउनुभयो । भैरहवाबाट परीक्षण रिपोर्ट आउन करिब दुई हप्ता लाग्ने र चौतर्फी पिसिआर परीक्षणको आवाज आउन थालेपछि स्थानीय तहले ल्याब सञ्चालनमा जोड दिएको मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले बताउनुभयो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस