तनहुँका पहिलो कोरोना सङ्क्रमित निको
दमौली, १ असार/ तनहुँका पहिलो कोरोना सङ्क्रमित आज निको भएर अस्पतालबाट घर फर्किएका छन् । ऋषिङ गाउँपालिका–४ का २८ वर्षीय युवक १५ दिनको अस्पताल बसाइपछि घर फर्किएका हुन् ।
शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा उपचाररत ती युवकलाई केन्द्रका सञ्चालक राम भण्डारी, निमित्त कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठलगायतले बिदाइ गर्नुभयो ।
भारतबाट गत जेठ १० गते फर्किएर व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसको क्वारेन्टिनमा बसेका ती युवकलाई जेठ १८ गते कोरोना पुष्टि भएको थियो । आज दोस्रो पिसिआर रिपोर्ट नेगेटिभ आएपछि उनलाई घर पठाइएको केन्द्रका निमित्त कार्यकारी निर्देशक डा श्रेष्ठले जानकारी दिनुभयो ।
डा श्रेष्ठका अनुसार ती युवकलाई रोग प्रतिरोधात्मक क्षमता बढाउन जिल्ला आयुर्वेद कार्यालयले उपलब्ध गराएको अश्वगन्ध चूर्ण, गुडुची चूर्णलगायत रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि मात्र सेवन गराइएको थियो ।
सङ्क्रमितले आफू अस्पतालमा रहँदा तातोपानी र आयुर्वेदिक औषधि मात्रै सेवन गरेको बताउनुभयो । “आत्मबल बलियो भए कोरोनालाई सहजै जित्न सकिने रहेछ”, उहाँले भन्नुभयो । अस्पतालबाट घर फर्किएका युवकलाई लिन ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ अस्पताल पुग्नुभएको थियो । ती युवकलाई १५ दिनसम्म घरमै सुरक्षित रुपमा बस्न लगाइनेछ ।
यसैबीच जिल्लाको घिरिङ गाउँपालिकाका पाँच जनामा आजै कोरोना पुष्टि भएको छ । उनीहरुको सोही अस्पतालमा राखेर उपचार भइरहेको छ । यसअघि ऋषिङका दुई र घिरिङका एक पुरुषसमेत सोही अस्पतालमा उपचाररत छन् । एक जना निको भएर फर्किएपछि जिल्लामा कोरोना सङ्क्रमित आठ जना छन्। अस्पतालले सङ्क्रमितको उपचारमा एक चिकित्सक, दुई नर्स र एक कार्यालय सहयोगी खटाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस