प्रदेश ५ समाचार: गर्भवतीसहित १५ मा कोरोना सङ्क्रमण
अर्घाखाँची, २ असार/ जिल्लामा एक गर्भवतीसहित १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा शीतगंगा नगरपालिकामा सात, भूमिकास्थान नगरपालिका र पाणिनि गाउँपालिकामा एकएक, छत्रदेव गाउँपालिकाका दुई, मालारानी गाउँपालिकाका तीन र ठेगाना नखुलेका एक गरी १५ जनामा आज कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलयका जन स्वास्थ्य निरीक्षक गणेश पौडेलले बताउनुभयो ।
क्वारेन्टिनबाट भागेका पक्राउ
भूमिकास्थानको क्वारेन्टिनबाट भागेका ३५ जना पक्राउ परेका छन् । भूमिकास्थान –१ र २ ढाकावाङको क्वारेन्टिनबाट भागेकाहरुलाई प्रहरीले आज पक्राउ गरेको हो ।
गथ जेठ २२ गते पिसिआर परीक्षणका लागि पठाइएको रिपोर्ट १४ दिन पुग्दासम्म नआएको भन्दै उनीहरु एकाएक क्वारेन्टिनबाट भागेका थिए । भागेर घर तर्फ जान हिँडेका उनीहरुलाई प्रहरीले पक्राउ गरी पुनः क्वारेन्टिनमा पठाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले बताउनुभयो ।
रुकुमपूर्व कोरोना सङ्क्रमणमुक्त
रुकुमपूर्व– स्वाब संकलन गरिएका ८२ जनाकै रिपोर्ट नेगेटिभ आएपछि ९रुकुमपूर्व० कोरोना सङ्क्रमणमुक्त भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणका क्रममा सबैको पिसिआर रिपोर्ट आज नेगेटिभ आएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख यादवप्रसाद शर्माले जानकारी दिनुभयो ।
दाङमा कोरोना संक्रमण तीव्र
घोराही– दाङमा आज थप ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । राप्ती प्रतिष्ठामा गरिएको परीक्षणमा यहाँका ४६ पुरुष र १० महिलामा कोरोना सङ्क्रमण भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जनाइएको छ ।
आज पुुष्टि भएको सङ्ख्या अहिलेसम्मकै धेरै हो । यससँगै जिल्लाभर २४३ जनामा सङ्क्रमण भएको छ । प्रतिष्ठानका अनुसार प्रतिष्ठानको कोरोना प्रयोगशालामा अझै चार हजार आठ सय जनाको स्वाब परीक्षण गर्न बाँकी छ ।
कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापनमा खटिएका थप ६ स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको छ । यस्तै दाङमा जनप्रतिनिधि, क्वारेन्टिनमा खटिएका भान्छे र स्वयंसेवकमा पनि कोरोना पोजेटिभ देखिएको छ ।
प्युठानमा थप २० मा कोरोना
झिमरुक– प्युठानमा आज थप २० व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा १९ पुरुष र एक महिलामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी पुष्कल श्रेष्ठले बताउनुभयो ।
सङ्क्रमितलाई स्थानीय तहले निर्माण गरेको आइसोलेशन केन्द्रमा राखिने जनाइएको छ । जिल्लामा कोरोना सङ्क्रमित ५५ जना पुगेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ हरितालिका तिज मनाइँदै
- २ हरितालिका तीज शुरु
- ३ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ४ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ५ आज गाईजात्रा
- ६ किन मृत्यु भएका घरबाट गाई निकालिन्छ
- ७ आज क्वाँटी खाने दिन; यस्ता छन् क्वाँटीका फाईदाहरु
- ८ आज जनै पूर्णिमा पर्व तथा रक्षाबन्धन मनाइँदै
प्रतिक्रिया दिनुहोस