सोती घटनामा पक्राउ परेका सबै प्रतिवादीको सकियो बयान
रुकुम(पश्चिम)को चौरजहारी नगरपालिका–८ सोती घटनामा संलग्न रहेको आरोपमा पक्राउ परी मुद्दा लागेका सबै प्रतिवादीको बयान सकिएको छ । मुद्दा दर्ता भएको चार दिनपछि आज पक्राउ परेका सबै २९ प्रतिवादीको रुकुम अदालतमा बयान सकिएको हो ।
पहिलो दिन सोमबार दुई नाबालक, दोस्रो दिन मंगलबार नौ, तेस्रो दिन बुधबार १० र चौथो दिन आज आठ प्रतिवादीको बयान लिइएको रुकुम अदालतका स्रेष्तेदार कृतबहादुर बोहराले जानकारी दिनुभयो । बयान सकिएपछि अब थुनछेक बहस शुरु हुने छ ।
अभियोग लागेका प्रतिवादीले आफ्नो बयान राखिसकेकाले शुक्रबारदेखि अदालतमा छुनछेक बहस शुरु हुने स्रेष्तेदार बोहराको भनाइ छ । जाजरकोटका पाँच र रुकुम(पश्चिम)का एक गरी ६ युवाको ज्यान जाने गरी गत जेठ १० गते भएको घटनामा संलग्न रहेको आरोपसहित जिल्ला सरकारी वकिल कार्यालयले पक्राउ परेका २९ जना र फरार रहेका पाँच जनासमेत गरी ३४ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो । सोती गाउँका ३३ जनाविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय भेदभाव र छुवाछुत कसूरमा तथा जाजरकोटका एक जनाविरुद्ध मतियार कसूरमा मुद्दा लागेको छ । घटनामा संलग्न भएको आरोपमा मुद्दा लागेका दुई नाबालकलाई भने अदालतले सोमबार मुद्दा पुर्पक्षका लागि बालगृहमा पठाउन आदेश दिएको थियो ।
उक्त आदेशानुसार प्रहरीले केटालाई नेपालगञ्ज र केटीलाई भक्तपुरको बालसुधारगृहमा पठाएको छ । यसैबीच फरार प्रतिवादीका हकमा भने अब अदालतले भनेअनुसार हुने जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले जानकारी दिनुभयो । मुद्दा अदालतमा गइसकेकाले अदालतले पक्राउको चिठ्ठी पठाएपछि फरार प्रतिवादीलाई पक्राउ गरिने उहाँको भनाइ छ । प्रतिवादी तुलाराम घर्ती, डिल्ली घर्ती, लोकेन्द्र घर्ती, सौरभ पुन र भीमवहादुर बुढा फरार छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ हरितालिका तिज मनाइँदै
- २ हरितालिका तीज शुरु
- ३ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ४ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ५ आज गाईजात्रा
- ६ किन मृत्यु भएका घरबाट गाई निकालिन्छ
- ७ आज क्वाँटी खाने दिन; यस्ता छन् क्वाँटीका फाईदाहरु
- ८ आज जनै पूर्णिमा पर्व तथा रक्षाबन्धन मनाइँदै
प्रतिक्रिया दिनुहोस