पोर्चुगलमा आठ हजारलाई निःशुल्क पिज्जा खुवाउँदै
लिस्बन, १५ असार/ विश्वमा इटालेली खानाका लागि बीसौँ नम्बरभित्र पर्ने पोर्चुगलका नेपाली सेफ टङ्क सापकोटाले एक आठ हजार जनालाई आठ हजार पिज्जा निःशुल्क खुवाउने अभियान शुरु गर्नुभएको छ । ‘एक्लैले संसार बदल्न सक्दैनौँ, तर संसार बदल्न सहयोग गर्न सक्छौँ’ भन्ने नाराका साथ कोरोना कहरबाट प्रभावितका लागि टोली नै लिएर सापकोटा एक महिनाभित्र पिज्जा खुवाउन मैदानमा उत्रनुभएको हो ।
अभियान असार २ गतेदेखि शुरु भइसकेको छ । इटालेली पिज्जाका लागि पोर्चुगलमा उत्कृष्ट सेफका रूपमा उहाँ धेरै पटक सम्मानित भइसक्नुभएको छ । बाग्लुङको दमकेमा जन्मिएर युरोपका विभिन्न देश हुँदै २४ वर्षदेखि पोर्चुगललाई आफ्नो कर्मथलो बनाउनुभएका ४५ वर्षीय सापकोटा विभिन्न सेवामूलक काम र सहयोग पु¥याएकाले पनि सुपरिचित हुनुहुन्छ । कोरोनाको महामारीबाट समस्यामा परेका मानिसलाई आफ्नो निजी खर्चमा सेवाभावले पिज्जा खुवाउने अभियान चलाइएको सापकोटाले राससलाई बताउनुभयो । पोर्चुगलको राजधानी लिस्बनका २४ वटा वडाका समस्याग्रस्त मानिसलाई पिज्जा खुवाउने लक्ष्य राखिएको छ ।
“लिस्बन महानगरका काउन्सिलर कार्लोस कास्तुको समन्वयमा सम्बन्धित स्थानमा नै पिज्जा बनाएर खुवाउन हाम्रो टिम जुटेको छ”, सापकोटाले भन्नुभयो । घुम्ती शिविर हरेक वडामा सञ्चालन हुने र घरघरमा पिज्जा पु¥याइने छ । स्थलगत पिज्जा तयार पार्ने व्यवस्थापनमा नेपाली व्यवसायी लक्ष्मीप्रसाद सापकोटा पनि लागिपर्नुभएको छ । मूलतः एशियाली र अफ्रिकी तथा पोर्चुगिसलाई पिज्जा वितरण गर्ने लक्ष्य छ ।
सामान्यतः एउटा पिज्जा तयार गर्न नौ युरो अर्थात् झण्डै रु एक हजार एक सय लाग्ने अनुमान छ । अभियानलाई नै आवश्यक पर्ने पिज्जा बनाउनका लागि उहाँले ३० हजार युरो(झण्डै रु ४० लाख) पर्ने चुल्हो(फोर्नाे) उहाँले किन्नुभएको छ । उहाँको अभियानमा ७० हजार युरो(रु ८५ लाखदेखि ९० लाख )खर्च हुने जनाइएको छ । अभियानमा लिस्बन नगरपालिकाका मेयरले महत्वाकाङ्क्षी योजनामा समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
काउन्सिलर कार्लोस कास्तुले आफैँ पिज्जा बनाउने स्थलमा उपस्थित भई उहाँको कामको हौसला प्रदान गर्नुभएको छ । एक नेपालीले यति ठूलो पुण्य काम गरेकामा लिस्बन नगरपालिका सधैँ साथमा रहेको उहाँले बताउनुभयो । अभियान पोर्चुगलभरि नै सञ्चालन गर्ने उहाँको अठोट छ । “समाजसेवा भनेको मनदेखि नै आउनुपर्छ । अ स्वार्थरहित समाजसेवामा लागेको हुँ”, उहाँले भन्नुभयो । उक्त अभियानमा ५०० स्वयंसेवक परिचालन गरिएको छ । एघार कर्मचारी पारिश्रमिक लिएर उक्त अभियानमा खटिरहेका छन् ।
यसअघि सापकोटा विश्वको सबैभन्दा महँगो र दुर्लभ च्याउ (हाइट्ट्राफल) पोर्चुगलमा भित्र्याउने पहिलो नेपालीको पहिचान बनाउन सफल हुनुभएको छ । हाल पोर्चुगलमा तीन इटालियन र एक नेपाली रेस्टुरेन्ट सञ्चालनमा छन् । एक इटालेली रेस्टुरेन्टमा पिज्जा तयार पार्न सुनको चुल्हो तयार राखिएको छ । उहाँको रेस्टुरेन्टमा पोर्चुगलका विभिन्न क्षेत्रका चर्चित व्यक्तित्व, कलाकार, फुटबल खेलाडी र राजनीतिज्ञको जमघट हुने गरेको छ ।
पोर्चुगलका वर्तमान राष्ट्रपति मार्सेलो रेवेलो दे सौसा र प्रधानमन्त्री एन्तानियो कोस्टा पनि धेरै पटक आफूले बनाएको पिज्जा खान रेस्टुरेन्ट आउने गरेको सापकोटाले आफ्नो अनुभव सुनाउनुभयो ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस