सङ्क्रमण दर बढ्दै
धनगढी, ५असार/ कोरोना भाइरस सङ्क्रमणका कारण सुदूरपश्चिम प्रदेशमा हालसम्म चार जनाको मृत्यु भएको छ । पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमित प्रदेशमा बढेर ५९९ पुगेको छ । प्रदेशमा पहिलो पटक गएको चैत्र १४ गते पहिलो कोरोना सङ्क्रमित भेटिएका थिए । बैशाख महिना शुरु हुँदा पाँच जनामा पुगेको यो सङ्ख्या त्यस पछि झण्डै एक महिनासम्म स्थिर रह्यो ।
तर भारतवाट फर्किनेहरु बढ्दै जाँदा प्रदेशमा सङ्क्रमणको दर केही हप्ता देखि बढ्दै गएको छ । क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय दीपायलले विहीवार सार्वजनिक गरेको तथ्याङ्कमा प्रदेशमा पछिल्लो २४ घण्टामा थप २२४ जनामा कोरोना पुष्टि भएको उल्लेख छ ।
बिहीवार कोरोना सङ्क्रमित कैलालीको लम्कीचुहा नगरपालिकाकी ४३ वर्षीया एक महिलाको नेपालगञ्ज शिक्षण अस्पताल र गोदावरी नगरपालिकाका ४६ वर्षीय एक पुरुषको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको पुष्टि भएको थियो । निर्देशनालयका अनुसार कैलालीमा १५३, डडेलधुरामा १२२, कञ्चनपुरमा ९४, बाजुरामा ६१, अछाममा ५१ ,बैतडीमा ५२, डोटीमा ३८, बझाङमा १६, दार्चुलामा १२ सङ्क्रमित पुगेका छन् ।
प्रदेशमा सङ्क्रमित मध्ये ८१ जना निको भई घर फर्किसकेका छन् । यस्तै पिसिआरबाट सङ्कलित १४ हजार १२८ को थ्रोट स्वाबको नमूना मध्ये नौ हजार ९५३ को जाँच हुँदा ५९९ मा नमूना ‘पोजेटिभ‘ फेला परेका हुन् । यस वाहेक प्रदेशका शङ्कास्पद ४८ नमूनाको सुर्खेत प्रयोगशालमा भएको परीक्षणमा दश जनामा पोजेटिभ भएको पुष्टि भएको जनाइएको छ । प्रयोगशलामा सङ्कलित नमूनाको चाप बढ्दा चार हजार १७ को नतिजा आउन बाँकी छ । आरडिटीबाट ८२ हजार ८३७ नमूनाको जाँच भइसकेको छ । सामाजिक दूरी कायम नगरी बढ्न थालेको सर्वसाधारणको चहलपहलले रोगको सङ्क्रमण थप बढ्ने खतरा देखिएको स्थानीय पुष्पराज पाण्डेयले बताउनुभयो । भारतवाट फर्किएर क्वारेन्टिनमा बसेका नेपालीको बसाइ व्यवस्थित र तोकिएको मापदण्ड अनुसार हुन नसक्दा सङ्क्रमणको जोखिम थपिएको हो ।
सेती प्रादेशिक अस्पताल धनगढी, कोरोना उपचार विभागका प्रमुख डा.शेरबहादुर कमर भारतवाट फर्किएका नेपालीलाई सुरक्षित तरिकाले राख्न नसकिएकोले सङ्क्रमणको बढेको बताउनुहुन्छ । डा. कमरले सङ्क्रमितसँगको सम्पर्कमा आएकाको गर्नुपर्ने ‘कन्ट्रयाक्ट ट्रेसिङ‘ को प्रभावकारी हुन नसक्दा सङ्क्रमणको जोखिम बढेको छ भन्नुभयो ।
सङ्क्रमण दर बढेसँगै प्रदेश कारोना उच्च जोखिममा पुगेको क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा.गुणराज अवस्थी बताउनु हुन्छ । ‘‘प्रयोगशालाले दैनिक २५० नमूना जाँच्न सक्ने क्षमता राख्दछ,” डा.अवस्थीले भन्नुभयो, ‘‘दिनमा दुई हजार नमूना सङ्कलन भइरहँदा प्रयोगशालाको जाँच गर्ने क्षमताले नभ्याउँदा सङ्कलित नमूनाको चाप बढेको छ ।”
नमूनाको चाप बढेर थन्किएका दुई हजार ६६ नमूना जाँचका लागि केन्द्रीय प्रयोगशालामा पठाउनु परेको डा.अवस्थीले बताउनुभयो । प्रदेश सरकारले डोटी र बैतडीमा पनि प्रयोगशाला सञ्चालनमा ल्याउने निर्णय झण्डै दुई महिना अघि गरेको थियो । सरकारको निर्णय बमोजिम आवश्यक प्रक्रिया अघि बढेकोले यही असार महिनामा प्रयोगशाला सञ्चालनमा आइसक्ने बताइएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस