गर्मी र वर्षाको मौसम शुरु भएसँगै सर्पदंशका बिरामी बढे
काठमाडौँ, ७ असार / गर्मी र वर्षाको मौसम शुरु भएसँगै तराईमा सर्पदंशका बिरामी बढ्न थालेका छन् । नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाद्वारा सञ्चालित सर्पदंश उपचार केन्द्रको पछिल्लो तीन महिनाको तथ्याङ्कले सर्पदंशका बिरामी बढेको पाइएको हो ।
उपचार केन्द्रमा गत चैतमा ४२ सर्पदंशका बिरामीको उपचार भएको थियो भने वैशाखमा ४४ को उपचार भएको थियो तर जेठमा भने बिरामीको सङ्ख्या बढेर ८० जना पुगेको देखियो । असारको ६ दिनमै ३१ सर्पदंशका बिरामीले उपचार केन्द्रबाट उपचार पाएको केन्द्रका प्राविधिक हेमचन्द्र अधिकारीले जानकारी दिनुभयो । सर्पदंश उपचार केन्द्रमा वार्षिक एक हजार ५०० का हाराहारीमा सर्पदंशका बिरामीले उपचार सेवा पाउँदै आएका छन् ।
चिसो र सुक्खा मौसममा दुलोभित्र रहने सर्प गर्मीसँगै वर्षा हुन थालेपछि बाहिर निस्कने गर्नाले हरेक वर्ष यो मौसममा सर्पदंशका बिरामी बढ्ने गरेको उहाँले बताउनुभयो । तराई क्षेत्रमा गोमन, करेतजस्ता विषालु सर्पको डसाइका बिरामी आउने गरेका छन् भने पहाडी क्षेत्रबाट गुर्भे, हरेउजस्ता सर्पले टोकेका बिरामी यहाँ आउने गरेको उपचार केन्द्र इन्चार्ज देवी भण्डारीले बताउनुभयो ।
गर्मी र वर्षाको मौसममा सर्पको टोकाइको जोखिम धेरै हुने भएकाले घर वरिपरिको सरसफाइमा ध्यान दिन उपचार केन्द्र प्रमुख भण्डारीले आग्रह गर्नुभएको छ । त्यसैगरी राति अँध्यारोमा हिँड्दा टर्चलाइट लिएर मात्रै निस्कनुपर्ने, दाउराघाँस गर्दा पूरा बाहुलाको कपडा लगाउने र गमबुट लगाउने गर्नाले सर्पदंशबाट बच्न सकिने उहाँको भनाइ छ । त्यसैगरी विशेषगरी करेत सर्पले घरभित्रै टोक्ने भएकाले राति सुत्दा भुइँमा नसुत्ने, झुल टाँगेर मात्रै सुत्ने गर्दा पनि सर्पको टोकाइबाट बच्न सकिने उहाँले बताउनुभयो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस