• जीवनशैली | Jiwanshaili
  • प्रदेश नं ५ का पत्रकारको कोरोना बीमा


    रुपन्देही, ९ असार/ प्रदेश नं ५ का ८३० पत्रकारको कोरोना बीमा गरिएको छ । नेपाल पत्रकार महासंघ प्रदेश नं ५ को समन्वय र आन्तरिक मामिला तथा कानून मन्त्रालयको आर्थिक सहयोगमा प्रदेशका १२ वटै जिल्लाका क्रियाशील पत्रकारको बीमा गरिएको हो ।

    आन्तरिक मामिलामन्त्री कुलप्रसाद केसीको उपस्थितिमा बीमासम्बन्धी सम्झौतामा महासंघ प्रदेशका उपाध्यक्ष भरत केसी र शिखर इन्सुरेन्स कम्पनी बुटवलका प्रबन्धक किरण काफ्लेले हस्ताक्षर गर्नुभयो । सो अवसरमा कार्यक्रममा आन्तरिक मामिलामन्त्री केसीले संकटका बेला सरकार र समुदायको हतियार मिडिया भएकाले तिनको सुरक्षाको दायित्व सरकारको भएको बताउनुभयो ।

    उहाँले कोरोना भाइरसको महामारीका कारण सञ्चारसंस्थामा पारेको प्रभावबारे छलफल गरिने बताउँदै संकटका बेला सरकार साथमा छ भन्ने अनुभूति सबैलाई गराइने धारणा राख्नुभयो । मन्त्रालयका सचिव रविलाल पन्थले विपद्का समयमा समेत समाचार संकलनमा खट्ने पत्रकारलाई बीमाले राहत प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

    महासंघ प्रदेशका उपाध्यक्ष केसीले महामारीका बेला पत्रकारले अग्रभागमा रहेर काम गर्दा सङ्क्रत्रमणको जोखिम हुन सक्ने अवस्थालाई ध्यानमा राखी कोरोना बीमा गरिएको बताउनुभयो । बीमा गरिएको १५ दिनपछि कुनै पत्रकारलाई कोरोना सङ्क्रमण देखिएमा बीमा कम्पनीले रु एक लाख दिने जनाइएको छ ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस