खरको छानो विस्थापित गर्दै स्थानीय तह
झिमरुक, १० असार / प्यूठान जिल्लाका स्थानीय तहहरुले खरको छाना विस्थापित गरी विपन्नका घरमा जस्तापाता लगाउने कार्यक्रम प्रभावकारी बनेको छ । लामो समयदेखि खरको छानामुनि बसेका जस्तापाताले छाउन नसकेका परिवारलाई स्थानीय तहमार्फत जस्तापाताले घर छाउने कार्यक्रम ल्याइएको हो ।
गौमुखी गाउँपालिकाले गत आर्थिक वर्ष २०७५-७६ मा एक हजार ४२८ अतिविपन्न परिवारको घरमा जस्तापाताले छाउने कार्यक्रम सम्पन्न गरेको गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरीले बताउनुभयो । रु पाँच करोड २८ लाख लागतमा जस्तापाता लगाइएको उहाँको भनाइ छ । गाउँपालिकाले प्रतिघर रु ४० हजार लगानीमा जस्तापाता लगाएको थियो । सो गाउँपालिकाले चालू आर्थिक वर्षमा पनि विभिन्न वडाका १२४ घरधुरीमा रु ५० लाख लागतमा जस्तापाता लगाएको छ ।
धेरै वर्षदेखि खरको छानामा बसेका गौमुखी–२ अर्खा ठूलाचौरका श्यामबहादुर थापाले जङ्गलको नजिक घर हुँदा खरको छानामा आगलागीको डर हुने गरेको बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाको सहयोगमा जस्तापाता लगाएपछि अहिले डर हटेको छ ।
यस्तै स्वर्गद्वारी नगरपालिकाले पनि नगर क्षेत्रमा रहेका विपन्न परिवारका घरमा जस्तापाता लगाउँदै आएको छ । आगामी आर्थिक वर्षमै खरको छानो विस्थापित हुने गरी काम भइरहेको नगरपालिकाले जनाएको छ । करिब दुई हजार २०० घरहरु खरको छानो भएको स्वर्गद्वारीमा करिब एक हजार ५०० घरधुरीमा जस्तापाता लगाइसकिएको नगरप्रमुख नेत्रबहादुर रोका क्षेत्रीले बताउनुभयो ।
आगामी वर्ष पनि प्रदेश सरकारसँग समन्वय गरेर रु एक करोड ५० लाख बजेट विनियोजन गरी १ र २ नं वडामा रहेका खरका छाना भएका घरहरुलाई जस्तापाताले छाएर नगरपालिकालाई खरको छानामुक्त घोषणा गर्ने योजना रहेको उहाँले बताउनुभयो । माण्डवी गाउँपालिकाले पनि पालिका क्षेत्रभित्र ७५० घरमा जस्तापाता लगाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस