• जीवनशैली | Jiwanshaili
  • किन विशेष छ साउन महीना?



    हिन्दू परम्पराअनुसार साउनलाई धार्मिक महीना भनिन्छ । पूर्वीय दर्शन अनुसार यस महिनामा भगवान शिवको आरधना गर्ने, उपवास बस्ने, शिवलिंगमा जल अर्पण गर्ने गरिन्छ । साउनको प्रत्येक सोमवार शिवभक्तहरू व्रत बसेर शिवको आरधाना गर्ने गरेका छन् । कोरोनाका कारण यस वर्ष पशुपतिको मूल ढोका नखुलेपनि यस वर्षपनि पशुपतिमा दर्शन गर्नेको भिड देखियो । साउनको सोमवार व्रत बस्ने र शिवलिंगमा जल चढाउनालो घरमा सुख र समृद्धि छाउँछ भन्ने पूर्वीय मान्यता रहेको छ । साउनको सोमवार शुद्ध हृदयले व्रत बसेर आरधाना गर्दा अन्य समयको भन्दा कयौं गुणा फलप्राप्ति हुने प्रचलित मान्यताका कारण पनि यो महीना हिन्दू धर्ममा आस्था राख्नेहरूका लागि विशेष हुने गरेको छ ।
    हिन्दू मान्यताअनुसार साउन महीना भगवान् शिवको प्रिय महीना हो । हरिशयनी एकादशी अर्था आषाढ शुक्ल एकादशीमा भगवान् विष्णु क्षीर सागरमा सुतेपछि हरिबोधिनी एकादशीसम्म भगवान् शिवले सृष्टि सञ्चालनको जिम्मा लिएको पूर्वीय मान्यता रहेको छ। साउन महीनाबाटै सूर्य दक्षिणतर्फ ढल्किने भएकाले जीवनमा क्षति गर्ने ग्रहहरू कमजोर हुने युक्ति पनि हिन्दू परम्परामा रहेको छ ।


    साउनमा व्रत बस्नुका फाइदाः

    -वैज्ञानिक मान्यताअनुसार वर्षायाममा जीवहरूको पाचन शक्ति कमजोर हुन्छ । वर्षाका कारण र यस समयमा सक्रिय हुने विभिन्न बाह्य किटाणुका कारण पेटमा जीवाणु फैलिने र पेट बिग्रिने सम्भावना हुन्छ । जसले हाम्रो प्रतिरक्षा प्रणालीमा पनि असर पुर्‍याउन सक्छ। यसकारण यतिवेला व्रत बस्दा शरीरलाई फाइदा गर्छ ।
    -वर्षायाममा हेपाटाइटिस बी, हैजा, ग्यास्ट्राइटिस लगायत विभिन्न भाइरल रोगहरु देखापर्दछन्। वर्षा र ओसिलो मौसमले यस्ता संक्रमण फैलने भय बढी हुने भएकाले खानपिनमा सतर्क रहने र उपासना गर्नाले फाइदा हुने मान्यता रहेको छ ।
    -जनस्वास्थ्यविद् अरुणा उप्रेतिकाअनुसार यो समय भनेको भकारी रित्तिने समय हो । पूर्खाहरुले यसबेला खाद्य संकट पनि भोगेको हुनसक्नाले खाद्यान्न स्टक गर्नका लागि यस्तो चलन चल्दै आएको हुनसक्छ । साउनमा मात्र नभएर अन्य समयमा पनि व्रत बस्नु स्वास्थ्यका लागि राम्रो हुने उनी बताउँछिन् ।
    -हिन्दू मान्यताअनुसार साउनमा व्रत बसेर शिवको आरधना गर्नाले अन्य समयको भन्दा बढी फल प्राप्त हुन्छ।


    क्याटेगोरी : चाडपर्व विशेष, समाचार, समाज

    प्रतिक्रिया दिनुहोस