पशुपतिलगायत देशभरका शिवालयमा भक्तजनको भीड
काठमाडौँ, ५ साउन
सौरमासअनुसार साउनको पहिलो सोमबार आज बिहान पशुपतिनाथ परिसरका शिवालयमा भक्तजनको भीड लागेको छ । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न गत चैत ११ गतेदेखि बन्दाबन्दी जारी गरिएपछि पशुपतिनाथको मूल मन्दिरमा भक्तजनलाई प्रवेश दिइएको छैन ।
असार १ गतेअघि पशुपति परिसरमा पनि भक्तजनको आवागमन रोकिएको थियो । असार १ गतेदेखि बन्दाबन्दी खुकुलो बनाइएसँगै पशुपति क्षेत्रमा भक्तजनको भीड बढेको थियो । धेरैले बाहिरबाटै दर्शन गर्दै आएका थिए । आज साउन महिनाको पहिलो सोमबार पनि धेरै भक्तजनले बाहिरबाट दर्शन गरे ।
मूल मन्दिरभित्र भक्तजनलाई प्रवेश नदिइए पनि परिसरमा भौतिक दूरी कायम नहुने अवस्था आज बिहान देखिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार धेरै भक्तजनले मास्कसमेत लगाएका थिएनन् । पशुपति क्षेत्रका अन्य शिवालयमा पूजा आराधना एवं दर्शन गर्न भक्तजन आतुर देखिन्थे । साउने झरी भए पनि बिहानै भक्तजन पशुपति क्षेत्र पुगेका थिए ।
मूल मन्दिर नखुले पनि बाहिरबाटै दर्शन गरेर फर्किएको ललितपुर, कुपण्डोलबाट आउनुभएका दर्शनार्थी पार्वती राउतले बताउनुभयो । साउनमा मन्दिरभित्रै गएर दर्शन गर्न पाए हुने भन्ने चाहनाले आफू पशुपति पुगेको उहाँको भनाइ थियो ।
मूल मन्दिरभित्र गएर दर्शनका लागि खुला गर्न सरकारले गर्ने निर्णयमा भर पर्ने कोषका सदस्य सचिव डा प्रदीप ढकाल बताउनुहुन्छ । सरकारले मन्दिर क्षेत्र खुला गरे भक्तजनलाई सुरक्षा विधि अपनाएर दर्शन गराउने गरी तयारी भइसकेको उहाँले जानकारी दिनुभयो । राजधानीका मलिलिङ्गेश्वर, गोकर्णेश्वर, किलेश्वर, कुम्भेश्वर, गोपालेश्वर, फणिकेश्वर, गन्धेश्वर, विक्रमेश्वर, वसन्तपुरको सानो पशुपति भनिने शिव मन्दिर, डोलेश्वरलगायत देशभरका शिव मन्दिरमा बिहानैदेखि भक्तजन दर्शन गर्न पुगेका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस