• जीवनशैली | Jiwanshaili
  • प्रविधिको उच्चतम उपलब्धी : आर्टिफिसियल इन्टेलिजेन्स


    विश्वमा प्रविधिको विकास र विस्तार तीव्र गतिमा भइरहेको छ । यही क्रममा हरेक दिनजस्तो संसारमा केही न केही नयाँ प्रविधिको विकास भइरहेको पाइन्छ । मानिसले आफ्नो सुविधाको लागि नै यी प्रविधिहरू बनाएका हुन् ।

    यिनैमध्ये एक प्रविधि हो– आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् कृत्रिम बुद्धिमत्ता ।

    सामान्यतया भौतिक यन्त्र वा सफ्टवेयरले मानिसले झैं बुद्धि लगाएर काम गर्न सक्ने प्रविधि नै आर्टिफिसियल इन्टेलिजेन्स हो । भौतिक वस्तुले मानवीय बुद्धिले जस्तै सृजनशील र चौतर्फी सोच राखेर काम गर्न सक्ने प्रविधि भएकाले यसलाई आजसम्मकै प्रविधिको उच्चतम उपलब्धी मानिएको छ । कम्प्युटरद्वारा नियन्त्रित रोबोट वा मानिसको जस्तै इन्टेलिजेन्स तरिकाले सोच्ने सफ्टवेयर बनाउने विधि हो । आर्टिफिसियल इन्टेलिजेन्सलाई छोटकरीमा ‘एआई’ पनि भन्ने गरिन्छ ।

    आम मानिसले रोबोटको कामलाई नै आर्टिफिसियल इन्टेलिजेन्स भनेर बुझ्ने गर्छन् । तर रोबोट केबल एउटा सिस्टम मात्र हो जसमा केही मात्रामा मात्रै आर्टिफिसियल इन्टेलिजेन्स हालिएको हुन्छ ।

    आर्टिफिसियल इन्टेलिजेन्स एउटा यस्तो ज्ञान हो, जसमा विकास गरिएको सफ्टवेयरले मानिसको जस्तै वा मानिसभन्दा पनि राम्रो ढङ्गले प्रतिक्रिया दिन सक्छ । यसमा विभिन्न विषय समावेश हुन्छन्, जसमध्ये गणित, समाजशास्त्र, दर्शनका साथै विभिन्न भाषाको ज्ञानहरू पर्छन् । सामान्यतया आर्टिफिसियल इन्टेलिजेन्सलाई दुई प्रकारका छुट्टाएर बुझ्न सकिन्छ ।

    पहिलो हो सरल आर्टिफिसियल इन्टेलिजेन्स र दोस्रो मजबुत आर्टिफिसियल इन्टेलिजेन्स । सरल आर्टिफिसियल इन्टेलिजेन्सलाई ‘नेरो इन्टेलिजेन्स’ पनि भनिन्छ । किनभने यसले तोकिएको एउटा काममात्र एकपटकमा राम्रोसँग गर्न सक्छ । उदाहरणका लागि, तपाईंको कम्प्युटर चेस खेल्न सक्छ भने त्यो चेस खेल्न मात्र एक्सपर्ट हुन्छ, त्यसले अरू कुनै काम गर्न सक्दैन ।

    मजबुत आर्टिफिसियल इन्टेलिजेन्समा मानिस वा मेसिन दुवैको दिमाग लगभग बराबर हुन्छ । अर्थात् जुन काम मानिसले गर्न सक्छ त्यो काम रोबोट वा मेसिनले पनि सजिलैसँग गर्न सक्छ । त्यसैले यसलाई ‘वाइड इन्टेलिजेन्स’ पनि भनिन्छ । यी दुई प्रकारका अतिरिक्त आर्टिफिसियल इन्टेलिजेन्समा विलक्षणतासमेत समावेश हुन सक्छ, जसले गर्दा रोवोट वा मेसिनले मानिसले भन्दा पनि उत्कृष्ट ढंगले सोच्न, सम्झन तथा विचार व्यक्त गर्न सक्छ । परिस्थितिअनुसार जुनसुकै काम पनि सम्हाल्न सक्छ ।

    आर्टिफिसियल इन्टेलिजेन्सको इतिहास

    आर्टिफिसियल इन्टेलिजेन्स भन्ने शब्दको पहिलो प्रयोग एउटा लेखमार्फत अमेरिकी वैज्ञानिक जाने म्याकार्थीले सन् १९५५ मा गरेका थिए । उक्त लेखमा मानिसको दिमागले सोच्न सक्ने अनेकौं आयाम र समस्या हल गर्न सक्ने परिस्थितिको चर्चा गरिएको थियो ।

    आर्टिफिसियल इन्टेलिजेन्सको आरम्भ १९५० को दशकमै भएको थियो, तर यसको महत्वका बारेमा भने १९७० को दशकतिर मात्र थाहा भयो । विश्वमा नै सबैभन्दा पहिले जापानले १९८१ मा फिफ्थ जेनरेसन नामको कम्प्युटर टेक्नोलोजिको योजना सुरु गर्दै आर्टिफिसियल इन्टेलिजेन्स प्रयोगमा ल्याएको थियो ।

    मानिसमा प्राकृतिक रूपमै सोच्ने, सम्झने र सिक्ने क्षमता हुन्छ, ठीक त्यसैगरी एउटा यस्तो सिस्टम जसले कृत्रिम तरिकाले सोच्ने, सम्झने र सिक्ने क्षमता राख्छ । हामीले कैयौं रोबोटिक एवम् टेक्निकल चलचित्रमा दशकौं अघिदेखि आर्टिफिसियल इन्टेलिजेन्स प्रयोगमा आएको घटना देखेका छौं । त्यस्ता चलचित्रमा रोबोट वा मेसिनहरूले मानिसको निर्देशन मान्नुको साटो आफैँ मनोमानी गर्ने कामदेखि लिएर युद्ध नै गरेका दृश्यहरू पनि छन् । यदि मानिसले आर्टिफिसियल इन्टेलिजेन्सको शक्तिशाली र विस्तृत प्रविधि दैनिक प्रयोगमा ल्याउन सक्यो भने त्यो हालसम्मकै सबैभन्दा उच्चतम उपलब्धी मानिनेछ ।

    (एजेन्सीको सहयोगमा)


    क्याटेगोरी : प्रविधी शैली, समाचार

    प्रतिक्रिया दिनुहोस