• जीवनशैली | Jiwanshaili
  • घटस्थापनासहित जमरा राखी बडादशैँ शुरु


    प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदाका दिन हिन्दू नेपालीका घरघरमा घटस्थापनासहित जमरा राखी बडादशैँ शुरु भएको छ । बिहान ११ः४६ बजेको शुभसाइतमा घटस्थापना गरी दशैँघर वा पूजाकोठामा जौ रोपेर जमरा राखेपछि आजदेखि नेपालीको महान् पर्व शुरु भएको हो । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाउने गरिन्छ ।
    दुर्गापक्षको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिएको छ । पूजाकोठा वा दशैँघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजाारम्भ भएको छ । पूजाकोठा वा दशैँघरमा नवरात्रभर देवीको आराधना गरिन्छ ।
    जौको अङ्कुर दुर्गाको प्रिय वस्तु भएकाले आज यव रोपण गरी उनलाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा लगाइन्छ । जमरामा जौबाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो । कुल परम्परानुसार कसैले अन्य अन्न पनि जौसितै रोप्ने गरेका छन् । जमरालाई आयुर्वेदिक औषधिका रुपमा समेत प्रयोग गरिन्छ ।
    देवीका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजाराधना गरिन्छ । महाकाली शक्ति, महालक्ष्मी धनधान्य र ऐश्वर्य तथा महासरस्वतीलाई विद्या र बुद्धिका प्रतीकका रुपमा पूजााराधना गर्ने वैदिककालदेखिको परम्परा छ ।
    दुर्गाले आसुरी प्रवृत्तिको प्रतीक चण्ड, मुण्ड, शुम्भ, निशुम्भ, रक्तबीजलगायत राक्षसलाई वध गर्न लिएका नौ रुपको दुर्गा पक्षका अवसरमा विशेष पूजाआजा र आराधना गरिन्छ ।


    क्याटेगोरी : चाडपर्व विशेष, समाचार

    प्रतिक्रिया दिनुहोस