• जीवनशैली | Jiwanshaili
  • विश्वमा करिब ४ करोड मानिस आधुनिक दास प्रथाबाट पीडितः अध्ययन


    अन्तर्राष्ट्रिय दासता उन्मुलन दिवस आज विभिन्न कार्यक्रम गरी मनाइदैछ ।

    विश्वबाट दास प्रथा उन्मुलन भए पनि कुनै न कुनै प्रकारको अहिलेसम्म दासप्रथा रहेको र त्यसको उन्मुलनका लागि संयुक्त राष्ट्र संघको आह्वानमा हरेक वर्ष डिसेम्बर २ मा यो दिवस मनाइदै आएको छ ।

    सन् १७७९ मा फ्रान्सबाट बलेको प्रजातन्त्र र समानता आन्दोलनको विगूलले संसारलाई झकझक्याउँदै गयो, क्रमशः अन्य देशहरुमा पनि प्रजातन्त्र र समानताको यो लालसा बढ्दै गयो । अहिलेको बिश्व शक्ति केन्द्र अमेरिका पनि उतिबेला बेलायतको अधिनमा थियो । भारतमा ईस्ट ईण्डिया कम्पनीका नाममा बेलायतले राज गरेको थियो, विभिन्न देश अनि भूभागलाई शक्तिशाली राज्यहरुले आफ्नो उपनिवेश बनाएका थिए र उपनिवेशको क्रमसँगै दासताको प्रथाले प्रश्रय पाउँदै गएको विभिन्न एतिहासिक दस्तावेजहरुको अध्यनले बताउँदछ ।

    अफ्रिकी भूभागहरुबाट दास बनाएर जनावर सरी सिक्रिले बाँधेर बेलायत, अमेरिका र अन्य धेरै बिकसित देशहरुका विशाल शहरहरुको विकास अनि निर्माण गरिएको इतिहास छन् । दास अर्थात् कहिंकसैको सम्पूर्ण अधिनमा मानव नै मानवको पशु जस्तो नोकर रहने चलन हो । पशुवत ब्यवहार अनि बलजफ्ति कुनैपनि कार्यमा लगाउने यी दासहरुको चलन यसभन्दा अगाडि ग्रिसको युद्धमैदान अर्थात् रणभूमीमा कुस्ती लडाएर मृत्युवरण नहुञ्जेलसम्म खेलाइने हृदयविदारक लडाईका क्रमदेखिनै पाईन्छ । एक किसिमले भन्ने हो भने शक्तिशाली र धनी समाजले गरिब र निरिह मानवहरुमाथि गर्ने यो पशुवत चलन ब्यापक अमानवीय थियो ।

    अन्तर्राष्ट्रिय श्रमिक संगठन आइएलओका अनुसार हाल विश्वमा करिब ४ करोड मानिस आधुनिक दास प्रथाबाट पीडित छन् । श्रम शोषण, बधुवा मजदुर, जबर्जस्ती बिहे, बेचबिखन जस्ता विभिन्न प्रकारका दास प्रथा अहिले पनि कायम छन् ।

    पक्कै पनि समाज र संसारमा शताब्दीपुराना तरिकाका दास तथा दासताका उदाहरणहरू अब जीवित छैनन् तर दासताको परिवर्तित स्वरुपहरु मानव तस्कर, अङ्ग तस्कर र जबर्जस्ती यौन ब्यवसायमा लगाइने तौर तरिकाहरुमा जिवन्त सक्रिय छन् । अझै पनि बालबालिकालाई विभिन्न नाम अनि ढङ्गमा जोखिमपूर्ण तथा गैरकानूनी कार्यमा लगाइन्छ । चाहे त्यो खुला सिमानाबाट गैह्रकानूनी तस्करीको श्रोतको रूपमा प्रयोग गरिंदै आएका उदाहरण होउन अथवा होटल तथा लजहरूमा खाना तथा भाँडाका टल्काउने फूच्चे फूच्चि यो दिन विशेषले यी आधूनिक स्वरुपका दासता विरुद्ध आवाज उठाउँदछ । यस्ता आधुनिक दासताका घटनाहरु नेपालजस्ता देशमा धेरै सुनिने गरिन्छ किनभने हामी विकासोन्मुख छौं तर विडम्वना राज्य यस्तो अवस्थामा बलियो र प्रभावकारी रूपमा उभिएको अनुभूति हुँदैन ।

    संयुक्त राष्ट्र संघका अनुसार विश्वमा करिब १५ करोड बालबालिका कुनै कुनै हिंसा, दासत्व र श्रम शोषणबाट पीडित छन् । तथ्यांक अनुसार हाल ४ करोड ३ लाख मानिस आधुनिक दासत्वमा छन्, २ करोड ४९ लाख मानिस सिधा श्रम शोषणमा परेका छन् भने १ करोड ५४ लाख मानिस जबर्जस्ती बिहे गर्न बाध्य छन् ।

    विश्वमा हरेक १ हजार जनसंख्यामा झण्डै ५ जना मानिस कुनै न कुनै प्रकारको दास जीवन बाँच्न बाध्य छन् । त्यस्तै हरेक ४ बालबालिकामा १ जना दासको जीवन बिताउन बाध्य छन् । १ करोड ६० लाख मानिस निजी क्षेत्रमा बधुवा घरेलु मजदुरका रुपमा छन् ।

    करिब ५० लाख मानिस यौनिक शोषणमा छन् भने ४० लाखभन्दा बढी मानिस सरकारी अधिकारीहरुको शोषणमा छन् ।

     


    क्याटेगोरी : खोज/विशेष, समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार