• जीवनशैली | Jiwanshaili
  • बेलायतमा ९० वर्षीया महिलालाई पहिलो कोभिड भ्याक्सिन


    बेलायत सरकारले आम नागरिकको लागि कोभिड भ्याक्सिन लगाउन सुरु गरेको छ । मंगलबार स्थानीय समय अनुसार बिहान ६:३१ बजे ९० वर्षिया महिलालाई भ्याक्सिनको पहिलो डोज दिइएको हो । यससँगै मार्गरेट किनन बेलायतमा कोभिड भ्याक्सिन लगाउने पहिलो व्यक्ति बनेकी छन् ।

    आगामी साता ९१ वर्ष प्रवेश गर्दै गरेकी उनको प्रतिक्रिया छ – भ्याक्सिन मेरो लागि जन्मदिनको उपहार भयो । बेलायत सरकारले फाईजररबायोएनटेकले विकास गरेको भ्याक्सिन आम प्रयोगमा ल्याएको हो । आम नागरिकका लागि पहिलो चरणमा ८ लाख डोज भ्याक्सिन दिइने सरकारी अधिकारीहरुले जनाएका छन् । आगामी केही हप्तामा ४० लाख डोज भ्याक्सिन आम प्रयोगमा ल्याउने सरकारी तयारी छ ।
    पहिलो चरणको कार्यक्रम अन्तर्गत ८० वर्षमाथिका नागरिक र स्वास्थ्यकर्मीहरुलाई भ्याक्सिन दिइनेछ । किननलाई कोभेन्ट्रीस्थित युनिभर्सिटी हस्पिटलमा भ्याक्सिन दिइएको हो । नेसनल हेल्थ सर्भिसका स्टाफलाई धन्यवाद दिने शब्द नभएको बताउँदै किननले आफुले ९० वर्षको उमेरमा पनि भ्याक्सिन पाएको भन्दै अरुले पक्‍कै पाउने विश्‍वास व्यक्ति गरिन् । गत हप्ता आम नागरिकका लागि प्रयोग गर्न स्वीकृति पाएसँगै बेलायतमा फाईजर भ्याक्सिनको प्रयोग थालिएको हो ।

    हेल्थ सेक्रेटरी म्याट हानककले अगाडिको बाटो निकै लामो भए तापनि यसले दिशानिर्देश गरेको बताए । मार्गरेटले भ्याक्सिन पाएसँगै आफु निकै उत्साहित र रोमाञ्‍चित भएको उनको भनाई छ । उनले भने, दृढतापूर्वक सबै मिलेर यो घातक भाइरसलाई हामीले नियन्त्रण गर्नेछौं ।
    ब्रिटिस प्रधानमन्त्री बोरिस जोन्सनले नेसनल हेल्थ सर्भिस र भ्याक्सिन विकास गर्ने सबैलाई धन्यवाद दिएका छन् । अरुलाई जोगाउनका लागि खटिने वैज्ञानिक र स्वयंसेवकलाई सम्बोधन गर्दै उनले भने, हामीले भाइरसलाई परास्त गर्नेछौं ।

    बेलायत सरकारले थप ८ लाख डोज भ्याक्सिनको लागि फाईजररबायोएनटेकसँग सम्झौता गरिसकेको छ । बेलायतमा २ करोड मानिसका लागि आवश्यक ४ करोड डोज भ्याक्सिन अर्डर गरिसकेको सरकारी अधिकारीहरुको भनाई छ । यद्यपि त्यो सबै यही वर्ष उपलब्ध हुने सम्भावना छैन । बेलायतका लागि ४० लाख डोज भ्याक्सिन यही वर्षको अन्यसम्म उपलब्ध हुने बताइएको छ ।

    बीबीसीका अनुसार बेलायतले यो वर्षको अन्त्यसम्म करीब ५० लाख डोज भ्याक्सिन पाउने अपेक्षा गरेको छ । बेलायतकै अक्सफोर्ड युनिभर्सिटीले विकास गरेको भ्याक्सिनको बारेमा नियामक निकायले अध्ययन गर्दैछ । आगामी केही हप्तामा अक्सफोर्ड युनिभर्सिटी र अस्ट्राजेनेकाले विकास गरेको भ्याक्सिन स्वीकृत भएको खण्डमा सन् २०२१ को सुरुवाती महिनाहरुमा बेलायतमा पर्याप्त मात्रामा आपूर्ति हुनेछ ।

    दुई डोज आवश्यक पर्ने
    विज्ञहरुका अनुसार फाईजररबायोएनटेकले विकास गरेको भ्याक्सिन प्रयोगकर्तालाई दुई डोज दिनु पर्दछ । कोभिड भ्याक्सिनको दोस्रो डोज २१औं दिनमा दिनुपर्ने र ुरिकभरी पिरियडु २८ दिनको हुने विज्ञहरुको भनाई छ । भ्याक्सिन लगाएको १२औं दिनदेखि प्रतिरक्षा शक्ति (इम्युनिटी) विकास हुने गर्छ । दोस्रो डोज दिएको एक हप्तापछि पूर्णरुपमा इम्युनिटी विकास हुन्छ ।

    भ्याक्सिनको आम प्रयोग सुरु भइसकेको छ । आगामी दिनमा लाखौं व्यक्तिले कोभिड भ्याक्सिन प्रयोग गर्नेछन् । यससँगै भ्याक्सिनको प्रयोगले स्वास्थ्यमा कस्तो प्रभाव पार्छ रु भ्याक्सिनको कस्तो असर देखिएला ? आदि प्रश्‍नमा विमर्श सुरु भइसकेको छ । सारा विश्‍वले कोभिड भ्याक्सिनको प्रयोगलाई आशाका साथ उत्सुक भएर हेरिरहेको छ ।

     


    क्याटेगोरी : कोरोना अपडेट, प्रवास, समाचार

    प्रतिक्रिया दिनुहोस