वाग्मती सफाइ महाअभियान शनिबारदेखि ४००औँ हप्तामा
सफाइ जागरणको प्रेरणाको स्रोत बन्न सफल वाग्मती सफाइ महाअभियान शनिबारदेखि ४००औँ हप्तामा प्रवेश गर्दैछ ।
विसं २०७० जेठ ५ गते तत्कालीन मुख्यसचिव लीलामणी पौडेलको अग्रसरतामा सो अभियान शुरुआत भएको थियो । शुरु भएदेखि आजसम्म प्रत्येक हप्ताको शनिबार बिहान ०७ बजेदेखि ९ बजेसम्म ‘दुई घण्टा राष्ट्रका लागि स्वयंसेवा’ भन्ने नाराका साथ अभियानकर्मीले नदीमा सफा गर्दै आएका छन् । यसबीचमा चिसो, गर्मी, भूकम्पको त्रास, कोरोना महामारी, चाडपर्वजस्ता दिन पनि महाअभियान रोकिएको छैन ।
सफाइबाट हालसम्म २० हजार मेट्रिकटन फोहर नदीबाट निकाली व्यवस्थापन गरिएको छ । काठमाडौँ महानगरपालिकालगायत स्थानीय तहले फोहर व्यवस्थापन गर्ने गरेका छन् । फोहर व्यवस्थापन गर्ने क्रममा गाडीमा राख्दा नाप गरिएका आधारमा २० हजार मेट्रिकटन फोहर व्यवस्थापन गरिएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले जनाएको छ ।
सफाइ महाअभियानमा १० लाख स्वयंसेवीले काम गरेका छन् । वाग्मती सफाइ महाअभियानको उत्प्रेरणाले उपत्यकामा रुद्रमती, विष्णुमती, इक्षुमती, मनोहरा, हनुमन्ते, कोड्कु, गोदावरी, बल्खुखोला, गुह्येश्वरीमाथिको वाग्मती, तिलगङ्गा, आलोकनगर, सुन्दरीघाट, चक्रपथको पश्चिम, उत्तर र दक्षिण भागलगायत स्थानमा सफाइ अभियान चलेको छ ।
यसैगरी उपत्यका बाहिर पनौती, जनकपुर, सिराहा, लाहान, झापा, पोखरा, बुटवल, तिनाउ, दाङलगायत गरी देशभर १०६ भन्दा बढी स्थानमा सफाइ अभियान भइरहेको छ । महाअभियान शुरु भएपछि यी सबै स्थानमा सफाइ अभियान शुरु गर्ने प्रेरणा मिलेको हो ।
अभियानले फोहरको स्रोतमै वर्गीकरण गर्न, कुहिने फोहरबाट बायो कम्पोष्ट मल र बायोग्याँस उत्पादन गर्न सहजीकरण गरेको छ । कुहिने फोहरलाई मल बनाएर कौशी खेती गर्न पनि अधिकार सम्पन्न वाग्मतीले उपत्यकावासीलाई प्रोत्साहन गरिरहेको छ । हालसम्म सामुदायिक संस्थाको सहयोगमा करिब पाँच हजार कम्पोष्ट विन कौशी खेतीलाई प्रोत्साहन गर्न वितरण गरिएको अधिकार सम्पन्न वाग्मती समितिका सूचना अधिकारी कमल अर्यालले बताउनुभयो । उपत्यका बाहिर पनि फोहरको स्रोतमै वर्गीकरणलगायत विधि अपनाउन शुरु भएको छ ।
शनिबार वाग्मतीको मुहान क्षेत्र सुन्दरीजल र मध्यभाग मीनभवनमा विशेष कार्यक्रम आयोजना गरिँदै छ । सुन्दरीजलमा आयोजना हुने कार्यक्रममा शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, वाग्मती प्रदेशसभा सदस्य छिरिङदोर्जे लामा, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापा, शङ्खरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठ, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिक अध्यक्ष उद्धवप्रसाद तिमल्सिनालगायत अभियानकर्मी सहभागी हुनुहने कार्यक्रम संयोजक डा माला खरेलले राससलाई जानकारी दिनुभयो ।
यसैगरी मीनभवनमा हुने कार्यक्रममा शहरी विकास मन्त्री प्रभु साह, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ, पूर्वउपप्रधानमन्त्री एवं नेपाली काँग्रेसका नेता प्रकाशनमान सिंह, वाग्मती प्रदेशसभा सदस्यद्वय दीपेन्द्र श्रेष्ठ र गणेश दुलाल, पूर्वमुख्यसचिव एवं अभियानकर्मी पौडेल, मन्त्रालयका सचिव डा रमेशप्रसाद सिंह, काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, अधिकार सम्पन्न वाग्मती समितिका आयोजना प्रमुख लगायत अभियानकर्मीको सक्रियता रहने छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस