बाइडेनसामु भारी चुनौतीः ग्लोबल मिडिया
गत बुधबार पदभार ग्रहण गरेसँगै नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनको कार्यकाल आरम्भ भएको छ । विश्वभरका मिडियाहरुले बाइडेनको सुरुवात निकै नै चुनौतीपूर्ण रहेको टिप्पणी गरेका छन् ।
रोस्सिया २४ नामक रसियन न्युज च्यानलका अनुसार बाइडेनको पदभार ग्रहणसँगै अमेरिकामा रसिया विरोधी भावना उल्लेख्य मात्रामा बढेको छ । भविष्यमा मस्कोविरुद्ध कडा प्रतिबन्ध लगाउने बाइडेन प्रशासनको नियत रहेको उक्त च्यानलको टिप्पणी छ । क्रेमलिन निकट दैनिक पत्रिका इजभेस्तियाले अमेरिकी नयाँ नेतृत्वले रसिया-अमेरिका सम्बन्धलाई आशावादी बनाउन प्रोत्साहन नगर्ने टिप्पणी गरेको छ ।
चिनियाँ सञ्चार माध्यमले बाइडेन प्रशासनसामु विराट चुनौती रहेको बताउँदै चीन-अमेरिका शीतयुद्धबाट मुक्त हुने काम गर्न आग्रह गरेका छन् । चीनबाट प्रकाशित हुने समाचारमा ट्रम्प प्रशासनका सेक्रेटरी अफ स्टेट माइक पोम्पियोप्रति कडा टिप्पणी गर्दै ‘लुनाटिक’को संज्ञा दिइएको छ । चीन सरकारनिकट मानिने पत्रिका ग्लोबल टाइम्सले बाइडेनको टिम पोम्पियोले राखेका बम हटाउन प्रतिबद्ध हुनुपर्ने टिप्पणी गरेको छ ।
ईरानी सर्वोच्च नेता अली खमेनी इरानमाथिको प्रतिबन्धलाई ‘न्युट्रलाइज’ गर्ने विषयलाई बाइडेन प्रशासनले प्राथमिकता दिनुपर्ने धारणा राख्छन् । इरानी राष्ट्रपति हसन रुहानी भने ट्रम्पलाई ‘मुर्ख आतङ्वादी’को संज्ञा दिँदै यस विषयमा थप टिप्पणी गर्दैनन् ।
‘कोलोसल च्यालेन्ज’
‘ट्रम्पले टुक्र्याएको राष्ट्रलाई एकीकृत गर्ने चुनौती बाइडेनसामु छ’, स्पेनी दैनिक पत्रिका ला भान्गुआर्डियाको हेडलाईनमा लेखिएको छ । स्पेनकै अर्को दैनिक एल पाइसको शीर्षकमा बाइडेनले ‘कोलोसल च्यालेन्ज’ अर्थात् विराट चुनौती भोगिरहेको उल्लेख छ । जर्मन टेलिभिजन डचे वेलेका अनुसार बाइडेनले यमन, इराक र उत्तर अफ्रिकामा असर पार्ने ट्रम्पको निर्णय तुरुन्तै परिवर्तन गर्नुपर्छ । जर्मन साप्ताहिक दि जाइतले अमेरिकी विदेश नीतिमा राजनीतिक उथलपुथललाई काबुमा राख्ने उदेश्य हुनुपर्ने लेखेको छ । अर्को जर्मन दैनिक दि वेल्तले बाइडेन प्रशासनले नाटोमा विश्वास गर्नुपर्ने र ट्रम्पले जस्तै रसियाली राष्ट्रपति पुटिनलाई साथीको रुपमा लिन नहुने टिप्पणी गरेको छ ।
टर्कीबाट प्रकाशन/प्रसारण हुने सञ्चार माध्यममा वासिङ्गटनसँग नयाँ सुरुवात हुने अपेक्षासहितका टिप्पणी पाइन्छ । टर्कीमात्रै नभएर अरब क्षेत्रबाट प्रकाशित हुने सम्पादकीयमा वासिङ्गटनको अरब नीति खासगरी प्यालेस्टाइन र इजरायलको सन्दर्भमा परिवर्तन हुने अपेक्षा देखिन्छ ।
भारतबाट प्रकाशित हुने इकोनोमिक टाइम्सको रिपोर्टमा बाइडेनको आप्रवासी नीतिले भारतीयहरुको ‘ग्रीनकार्ड क्यु’लाई सघाउने उल्लेख छ । बाइडेनले सुरुवाती चरणमा निर्वाचनको कारण विभाजित आफ्नै घरमा बढी ध्यान दिनुपर्ने ल्याटिन अमेरिकी मत छ । यद्यपि अर्जेन्टिनी दैनिक पत्रिका क्लारिनमा विश्लेषक मार्सेलो क्यानटेल्मी लेख्छन्, ‘ट्रम्पको विषाक्त विरासतका कारण बाइडेनको प्राथमिकतामा ल्याटिन अमेरिका ‘एब्सेन्ट’ हुनसक्छ ।’
अफ्रिकी सञ्चार माध्यमहरु पनि ट्रम्पको कार्यकाल सकिएको विषयमा केन्द्रित छन् । केन्याबाट प्रकाशन हुने स्वाहिली पत्रिका तैफा लियोको हेडलाईन छ, ‘ट्रम्पले छोडेको अमेरिका शर्मनाक र क्षतिग्रस्त छ ।’
(बीबीसी मिडिया इन्साइटमा प्रकाशित सामग्रीको भावानुवाद)
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस