• जीवनशैली | Jiwanshaili
  • सडक किनाराकी सानी ‘सिस्नोवाली नानी’


    काठमाडौँको घण्टाघरको समय सूचक घण्टी सुनियो अनि घण्टा टाङ टाङ गर्दै ४ पटक बज्यो । जमलबाट रत्नपार्क आउने दरबार मार्गको बाटोमा हजारौँ बटुवा ओहोर दोहोर गरिहरेका थिए । कतिले घण्टाको आवाज सुनेर माथि घडी हेरे कतिले आफ्ना हातका घडी हेरे कतिले त यादै गरेनन् ।

    वारि र पारी श्रीचन्द्र क्याम्पसका विद्यार्थीको कोलाहल छ । हिँड्ने बटुवालाई हतारो छ । सडकका सवारी जोडले हुइँकिएका छन् । जेब्राक्रसिङमा केही मान्छ कुन बेला सवारी चाप कम होला र सडक काटौँला भनी पर्खिएका छन् । राजधानी काठमाडौँको जनसङ्ख्या केही वर्ष यता निकै बढेको छ । सडक किनाराको फुटपाथमा बटुवाहरू ठेलम ठेल गर्दै हतारिएर हिँडिरहेका छन्

    त्यही घण्टाघरको मुनी बटुवाहरू ठेलमठेल गरेर हिँडिरेका सडकको किनारामा एक जना बच्ची बसेकी छिन् । बच्ची एउटा सानो नाङ्गलो पसले कि साहुनी हुन् । करिब ७ वर्षकी ती बालिकाको पसलमा ५–७ झोला सिस्नु छ । केही मुठा साग अनि केही साबुनहरू ।



    छेउमा पानीको बोतल छ अनि उनको हातमा किताब । छेउमै राखिएको छ उनको स्कुलको झोला । नाङ्लो पसलको सामान कुरेकी साहुनी ती बालिकाको ध्यान चाहिँ किताब पढ्नमा देखिन्छ । जब कोही ग्राहक आउँछन् तब मात्र उनको ध्यान पसल तिर जान्छ । सडक किनाराकी ती सानी नानीलाई छेउमा पानीको बोतल, हातमा किताब र अर्को छेउमा स्कुलको झोला । बोरा ओच्छ्याएर त्यहीमाथि बसेर पढिरहेकी ती नानीलाई यो जाडो महिनामा भुईँको चिसो आउने चिन्ता छैन । नत उनलाई अरू बटुवाहरूको सुर्ता छ । हुँईकी रहेका गाडीको आवाज र नियमले बजाउने नपाउने भए पनि ट्याँ ट्याँ बजिरहने हर्नले पनि उनको ध्यान भाँड्न सकेको छैन ।

    बेला बेलामा कुनै ग्राहक आएर उनको नाङ्लो पसलमा रहेका साग, सिस्नु अनि साबुनको भाउ सोध्दा केही बेर उनको एकाग्रता भाँडिन्छ नत्र उनी एकोहोरो किताब पढिरहेकी या कापीमा होमवर्क गरिरहेकी हुन्छिन् ।

    म पुग्दा उनी किताब पढ्दै थिइन । विश्व विख्यात फुटबलर पेलेको जीवनी पढ्दै थिइन उनी, आफ्नाे कोर्स बुकबाट । कुरा गर्न खोज्दा पनि उनलाई डिस्टर्भ हुने होकी भनेर धक मान्नुपर्ने । तर पनि कयौँ दिनदेखि उनलाई त्यहीँ देखेको उनको बारेमा जान्ने जिज्ञासा भयो । कुरा नगरी मनै मानेन ।

    कुरा गर्न सुरूमात्र के गरेका थियौ, एक जना १२-१३ वर्षकी देखिने अर्की बालिका आइपुगिन् । उनका हातमा तातो तातो चिया र एक पुरिया बिस्कुट थियो । उनले ल्याएको चिया र बिस्कुट तिनै बालिकालाई दिइन् । चिया र बिस्कुट खुसी हुँदै समात्दै बालिकाले आएकी अर्की बालिकाको परिचय गराइनन्, मेरी दिदी हो ।

    एक जना बटुवा उनको पसलमा रोकिएर हेर्न थाले । ग्राहक देखेर बालिका व्यापारी बनिन् ‘सिस्नु लानुस् सुगर प्रेसर ठिक हुन्छ’ । ग्राहकले हाँस्दै सिस्नो किने अनि सानी बालिकाले बेचेको देखेर र उनको मायालु व्यवहारले होला बेच्ने राखेको साबुन पनि किने ।

    मैले नानीलाई जिस्काउँदै सोधेँ, ‘साँच्ची नै ठिक हुन्छ त सिस्नुले सुगर र प्रेसर’ । उनले मुस्कुराउँदै भनिन्, ‘भइहाल्छ नि’ । यस्तो भन्दा उनले छाडेको कोमल मुस्कान देख्दा लाग्यो त्यो सिस्नुले भन्दा पनि उनको मुस्कान लेनै रोग ठिक हुन्छ जस्तो । अरू केही ग्राहक आए उनको पसलमा भएका केही अरू सामान घटे । ग्राहकलाई मनाउन अलि अलि सहयोग मैले पनि गरेँ ।

    बटुवाको ओहोर दोहोरबीच उनको पसल छेकिएको थियो । कतिको त उनको पसलमा आँखै पर्दैनथ्यो । कोही कोही सिस्नोका पारखी उनको पसल देखेर रोकिन्थे । सिस्नो जता ततै कहाँ पाइन्छ र अनि धेरैलाई सिस्नोले मधुमेह कम गर्छ भन्ने लागेको पनि छ, प्रमाणित आधार चाहिँ केही नहोला । मनिसको त्यही सोचलाई समातेर सिस्नो बेच्न माहिर भैसकेकी थिइन् सानी नानी ।

    ग्राहक नआए पनि उनको ध्यान पढाई बाट अहिले हटिसकेको थियो । मैले नै गर्दा । उनको बारेमा जान्ने जिज्ञासाले मैले कुरा सुरु गरेँ ।

    ‘नाम के हो नि नानीको ?’

    ‘रीतिका लामा ।’

    ‘हाम्रो खास घर सुनसरी धरान हो । आमा, बाबा र दिदी हामी सबै अहिले यहीँ छौ, कठमाडौंमा ।’

    ‘कति वर्ष भयौ त तिमी ?’

    ‘सात’

    ‘अनि कुन स्कुलमा पढ्ने नि?’

    ‘बागबजारको चिल्ड्रेन मोडल हाइस्कुलमा, क्लास थ्रीमा ।’

    यत्तिकैमा एक जना ग्राहक आई पुगिन् ।

    महिला साबुन देखाउँदै,

    ‘साबुनको कति हो ?’

    ‘यसको ४० अनि यसको ३० ।’

    महिला तीस पर्ने साबुन तीन वटा मागिन् ।

    साबुन दिँदै रीतिका ले तत्काल मनमनै हिसाब गरिहालिन् ।

    ‘९० रुपैयाँ भयो । ’

    महिलाले १ सयको नोट दिइन् । रितकाले १० रुपैयाँ फिर्ता गरिन् ।

    कति चाँडो हिसाब गरेको, तिमी त व्यापारी भइसकिछौ त ?

    हिसाब त भइहाल्छ नि ।

     

    हरेक दिन बेलुका ३ : ५० मा स्कुल छुटेपछि घर पुगेर लुगा फेरेपछि स्कुल ब्याग बोकेर रीतिका यो पसलमा आइपुग्छिन् । पसलको समान दिदी आमाले पुर्याईदिन्छन् । पसलमा बस्दै ग्राहक कुर्दै उनी आफ्नाे सबै होमवर्क गर्न भ्याउँछिन् । बेलुकी ७ बजेसम्म बस्दा उनको अरू पढाई पनि त्यहीँ सडकमा हुन्छ । सडकको कोलाहलमानै शान्ति अनुभूति गर्न सिकिसकेकी छिन् रितिकाले । सडकको कोलाहलले उनको पढाइमा कुनै अवरोध पुर्याउँदैन ।

    स्कुलमा निक्कै मेहनतका साथ पढ्न भएर सबैकै प्यारी छिन् रीतिका । घरमा पनि बाबुआमा कि प्यारी । आमा बागबजारमा रहेको एक स्कुलमा बच्चा हेर्ने काम गर्नु हुन्छ । बाबा श्रीचन्द्र कलेजमा काम गर्नुहुन्छ । दिदीको उमेर जम्मा १२ वर्ष दिदीले पनि खुब माया गर्छिन् रितिकालाई ।

    ‘म अलि जिद्दी छु दिदी सँग खेल खेल्दा हार्छु अनि मलाई रिस उठ्छ त्यस पछि खेल्नै मन लाग्दैन । त्यही भएर म त यहाँ आउँछु अनि व्यापार गर्छु ।’

    अचम्म त यो कि उनी गीत पनि राम्रै गाउँदिरहिछिन् ।

    ‘म एउटा गीत सुनाउँछु है ’ चञ्चल हुँदै भनिन्

    ल सुनाउन त भन्दा उनी गाउन थालिन

    ‘कहाँ फेरि आउँछ र यो बालापनको रहर………’

    गीत गाउँदा गाउँदै बीचमै रोकिएर उनले भनिन् ।

    ‘यो गीत सुन्दा कसको याद आउँछ थाह छ रु मेरो साना भाइ बहिनी छिन्, उनीहरूको याद आउँछ, उनीहरू सानै छन् ।’

    आफू ठुलो भएको एहसाससँगै आफ्ना भाइबहिनीको चिन्ता । रितिकालाई समय र परिस्थितिले परिपक्व बनाइसकेको रहेछ ।

    यत्तिकैमा रितिकाले झोलाबाट कपी निकालेर एक बालिकाको चित्र कोरिन ।

     

    ‘आहा कति राम्रो चित्र बनाएको, चित्र पनि बनाउने गीत पनि गाउने, तिमी कति प्रतिभावान रैछौ तरु’
    मैले भने ।

    ‘मलाई त नाच्न पनि आउँछ अनि ब्याडमिन्टन खेल्न पनि मन पर्छ ।’ रितिकाले भनिन् ।

    त्यतिका कुरा आउँदो रहेछ अनि किन आएको त यो व्यापार गर्न ।’

    ‘बाबा आमाको कमाइ धेरै हुँदैन त्यही भएर सघाउन आएकी । ’

    रितिकाको जवाफ हाम्रो देशको राजनीतिक अवस्थालाई थप्पड जस्तो लाग्यो । समाजवाद उन्मुख देशमा एउटा खेल्ने उमेरको बच्चा आमा बुवाको कमाइमा पूरक हुन्छ भनेर आफै सडकमा काम गर्न आएको छ । अनि उनको गीतको जस्तै बालापनको रहर पुरा गर्ने अवसर नपाउँदा पनि खुसी हुन बाध्य छ ।

    यतिकैमा एक जना महिलाले आएर सिस्नुको भाउ सोधिन् ।

    ‘चालिस रुपैयाँ झोलाको ।’

    पख है पैसा छ कि छैन झोलामा हेर्छु, भन्दै महिलाले झोला खोतलिन् अनि पैसा निकाल्दै एक झोला सिस्नुको साग मागिन् ।

    ‘सिस्नु कहाँबाट ल्याएर बेच्छौ नि । ’ मैले सोधेँ ।

    ‘आमाले टु कुचा खोलामा गएर टिपेर ल्याउनुहुन्छ दिनमा सात आठ झोला जति हुन्छ ।यो साग चाहिँ यही हामी बस्ने घरको अगाडी लगाएका छौँ।’ उनले एकै पटक मेरा सम्भावित अरू प्रश्नहरूको पनि जवाफ दिइन् ।

    यो पसल बिहान र बेलुका खुल्दो रहेछ । बिहान पनि १ घण्टा आएर पसल हेर्ने जिम्मा उनको दिदीको अनि बेलुका उनको ।

    साँझ झमक्कै पर्न लागिसकेको थियो । साग सबै सकिई सकेको थियो, तीन ओटा साबुन मात्रै बाँकी थियो ।

    रीतिका आजको कमाइको पैसा गन्न थालिन् ।

    ‘एक सय, दुई सय, पाँच सय, पाँच सय बिस अनि पाँच सय तीस ।’ आजको उनको जम्मा कमाई ।

    ‘कहिले त सात सय पनि पुग्छ । अनि कहिले काहीँ त मलाई दुई तीन सय पैसा मात्र । कसै कसैले कहिले काहीँ कापी कलम किन्नु भनेर पनि दिनुहुन्छ । ’

    ‘एक छिन है’ भन्दै रीतिका झोला खोतल्न थालिन् ।

    केही पेन्सिल, ईरेजर देखाउँदै ‘यो पनि मलाई उपहार दिनु भएको नि हजुर लाई थाहा छ । ’ उनले भनिन ‘मलाई धेरै पढ्नु है भन्दै कत्ति जनाले उपहार अनि पैसा दिनुहुन्छ । ’

    मेरो पनि शुभकामना छ उनलाई । रितिकाकाको मेहनतलाई । मैले उनलाई उपहार पैसा त दिइन । उनको बचेका तीन वटा साबुन किने । साग त्यस अघि नै किनिसकेको थिए ।

    उनकी दिदी आइपुगिन एक झोला तरकारी लिएर । आमाले पठाइदिनु भएको भनेर । बिचमा एक छिन् आमा आउँदा उनीसँग पनि भेट भएको थियो ।

    रितिकाको दिदीले ल्याएको सिस्नोको साग लिएर मैले पैसा दिन खोजे । उनीहरूले लिनै मानेनन् । बरु उनीहरूले पो मलाई उपहार दिए । त्यतिका बेर बसेर कुरा गरेको उपहार पाए मैले ।

    दिदी बहिनी मिलेर पसल उठाए । एक एक समान बोकेर उनीहरू हिँड्न लागेको म हेरी रहे ।

    बाई फेरी आउनुस् है । रितिकाले भनिन् । उनकी दिदी मुसुक्क हाँसिन् । म हात हल्लाएर उनीहरूलाई हेरी रहेँ ।

    अँध्यारो भईरेको थियो । विस्तार उनीहरू अँध्यारोमा विलीन भए ।

     


    क्याटेगोरी : फिचर

    प्रतिक्रिया दिनुहोस


    थप समाचार