जेनेट येलेन बनिन् पहिलो महिला अमेरिकी अर्थमन्त्री
वासिङ्टन– अमेरिकी माथिल्लो सदन सिनेटले राष्ट्रपति जो बाइडेनद्वारा अर्थमन्त्रीमा मनोनित जेनेट येलेनलाई अनुमोदन गरेको छ । उनी अमेरिकी अर्थमन्त्रीको पद सम्हाल्ने पहिलो महिला पनि हुने छिन् ।
अर्थमन्त्री येलेनमाथि कोभिड–१९ सँग सम्बन्धित विशाल आर्थिक प्याकेजमा तल्लो सदन कङ्ग्रेसबाट अनुमोदन गराउनुपर्ने ठूलो चुनौती छ ।
येलेनले यसअघि अमेरिकी केन्द्रीय बैंकको पनि सन् २०१४ देखि २०१८ सम्म पहिलो महिलाका रुपमा नेतृत्व गरिसकेकी छिन् । उनीसँग विगतमा ह्वाइट हाउसको आर्थिक सल्लाहकार परिषदमा रहेर पनि काम गरेको अनुभव छ ।
राष्ट्रपति जो बाइडेनले कोभिड–१९ का कारण अमेरिकी अर्थतन्त्रमा परेको असर न्यून गर्न भन्दै अघि सार्नु भएको १९ खर्ब डलरको आर्थिक पुनरुत्थान प्याकेजलाई कङ्ग्रेसबाट अनुमोदन गराउनुपर्ने येलेनसामु पहिलो चुनौती छ ।
सिनेटको वित्त समितिमा भएको सुनुवाईका क्रममा येलेनले ब्याजदरमा निकै गिरावट आएकाले बाइडेन प्रशासनले ठूलै आर्थिक प्याकेज घोषणा गर्नु सकारात्मक कदम हुने बताएका थिए ।
सोमबार राष्ट्रपति बाइडेनले पनि राहत योजना अघि बढाउँदा अमेरिकी कङ्ग्रेसका दुबै दलबीच सहमति जुटाउन पहल गर्ने बताएका छन् ।
उनले अहिले लगानी नगरे कोभिड–१९ बाट सिर्जित आर्थिक चुनौती अझ व्यापक हुने र पछि त्यसलाई सम्बोधन गर्दा अझ ठूलो मूल्य चुकाउनुपर्ने हुन सक्छ भनेका छन् । उनले भने, “लगानीको उपयुक्त समय नै अहिले हो, त्यसैले लगानी नगरी हामी चुप बस्न मिल्दैन ।”
सिनेटमा सुनुवाईका क्रममा वित्त समितिका अध्यक्ष सिनेटर रोन वाइडेनले अर्थमन्त्रीमा प्रस्तावित येलेन प्रतिभाशाली अर्थशास्त्री रहेका चर्चा गर्दै अहिलेको विषम परिस्थितिमा अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्न उनी उपयुक्त र योग्य व्यक्ति रहेको बतए ।
रिपब्लीकनका तर्फबाट सिनेटमा अल्पमतका नेता मिच म्याक्कोनेलले आफ्नै पार्टीका एक दर्जनभन्दा बढी सदस्यले बिरोध गरे पनि येलेनको अनुमोदनलाई समर्थन गरेका थिए ।
अमेरिकामा कोभिड–१९ बाट संक्रमितको संख्या अढाई करोड पुगिसकेको छ भने संक्रमितमध्ये चार लाख २० हजारभन्दा बढीको ज्यान गइसकेको छ ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस