कृषिक्रान्तिका लागि प्रभावकारी योजना बनाउँदै मकवानपुरगढी
मकवानपुरगढी गाउँपालिकाले कृषिमार्फत नागरिकलाई समृद्ध बनाउन आकर्षक कृषि योजना बनाएर कार्यान्वयनमा ल्याएको छ । गाउँपालिकाले कृषि क्षेत्रको बजेटलाई समेत वृद्धि गरेर गत वर्षको तुलनामा दोब्बर बनाएको छ । किसान क्रेडिट कार्डको कार्यान्वयन, बसाइँ सरी यस पालिकामा आएर कृषि गर्नेलाई प्रोत्साहन अनुदान, एक वडा एक कृषि तथा पशु प्राविधिकको व्यवस्थापन (प्राविधिक सेवा टेवा), कृषि पकेट क्षेत्र विकास प्रोत्साहन कार्यक्रम, माटो परीक्षण प्रयोगशाला स्थापना र सञ्चालन, कृषि यान्त्रिकीकरण प्रवद्र्धन कार्यक्रम, हरितगृह (प्लाष्टिक घर)भित्र तरकारी खेती प्रवद्र्धन कार्यक्रम, सहकारीमार्फत अनाज खरिद बिक्री अनुदान कार्यक्रम, रैथाने बाली प्रवद्र्धन कार्यक्रम, कृषि प्रसार कार्यक्रम (कृषक समूह गठन दर्ता तथा कृषि फार्म दर्ता), बाँझो जग्गालाई सदुपयोगमा ल्याउन प्रोत्साहन, बाँदर प्रभावित क्षेत्रमा अदुवा बेसार खेती अनुदान कार्यक्रमजस्ता आकर्षक कार्यक्रम बनाएर गाउँपालिकाले किसानलाई उत्पादनमा लाग्न प्रेरित गरिरहेको छ ।
मकवानपुरगढी मकवानपुर जिल्लाको मध्यभागमा अवस्थित वाग्मती प्रदेशको राजधानी हेटौंँडासँग जोडिएको पहाडी गाउँपालिका हो । यस गाउँपालिका १४९ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । साविकका मकवानपुरगढी, आमभञ्ज्याङ, बूढीचौर र सुकौरा गाविस समेटेर निर्माण भएको मकवानपुरगढी गाउँपालिकामा आठ हजार ९४२ हेक्टर जमिन खेतीयोग्य छ ।
गाउँपालिकाको कृषि शाखाका अनुसार खेतीयोग्य जमिनमध्ये पाँच हजार ८५६ हेक्टरमा सिँचाइ सुविधा उपलब्ध छ भने तीन हजार ८६ हेक्टर पाखोबारी छ । कृषि तथा पशुपालन व्यवसायको आधारभूमि रहेको यस गाउँपालिकाले ‘शिक्षा, कृषि, पर्यटन र पूर्वाधार, मकवानपुरगढी गाउँपालिका समृद्धिको आधार’ भन्ने मूल नारा तय गरी कृषि तथा पशुपालन क्षेत्रलाई आर्थिक स्रोतको प्रमुख आधारका रूपमा बजेट विनियोजन गरी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।
गाउँपालिकाले गत आर्थिक वर्षमा ४.९७ प्रतिशत मात्र रहेको कृषि बजेटलाई बढाएर ८.८७ प्रतिशत पुर्याएको पालिकाका कृषि अधिकृत चन्द्रकान्त चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्ष कृषिको कूल बजेट रु दुई करोड ६७ लाख ५९ हजार मात्र थियो भने चालू आवमा रु पाँच करोड ७८ लाख ७५ हजार ५०० पुर्याइएको छ । गाउँपालिकाले उपलब्ध गराएको तथ्याङ्कअनुसार यस गाउँपालिकामा एक हजार ३८४ हेक्टर जमिनमा वर्षेधान, ५० हेक्टरमा चैतेधान, तीन हजार २३५ हेक्टरमा मकै, ३०० हेक्टरमा कोदो, ६० हेक्टरमा दलहन, ७० हेक्टरमा तेलहन, १५० हेक्टरमा तरकारी र २५० हेक्टरमा आलु लगाइने गरिन्छ । त्यस्तै ५० हेक्टरमा विभिन्न प्रजातिका फलफूल लगाइएको छ । पालिकाले चालु आवमा बालीतर्फ रु दुई करोड ५४ लाख ८५ हजार र पशुपक्षीतर्फ रु तीन करोड २३ लाख ९० हजार ५०० रकम विनियोजन गरेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस