भारतबाट भित्रिएपछि बारीमा नै कुहिदै तरकारी
भारतबाट सस्तो गोलभेँडा भित्रिएपछि नेपाली तरकारी किसानको टमाटर बारीमै कुहिन थालेको छ । माघ दोस्रो सातासम्म प्रति केजी २० रुपियाँमा ब्यापारीले बारीबाट उठाउँदै गरेको गोलभेँडा माघको तेस्रो सातादेखि प्रति केजी १० रुपियाँमा पनि बिक्री हुन छोडेको छ । गोलभेँडा मात्र होइन ब्रोकाउली, बन्दा र आलुसमेत भारतबाट सस्तो मूल्यमा आउँदा किसानको छटपटी सुरु भएको छ । पूर्वी तथा उत्तरी मोरङका ब्यावसायिक तरकारी उत्पादक किसानहरू भन्छन् – मल,बीउ र प्रविधि होइन अब स्थानीय सरकारले बजारको ब्यवस्था गरिदिनुपर्छ । लेटाङ–८ जाँतेका गोलभेँडा उत्पादक किसान टेकबहादुर निरौलाले भने प्रतिकेजी १० रुपियाँमा पनि बिक्री हुन छोड्यो । चार कट्ठामा गोलभेँडा खेती गरेर वार्षिक तीन लाख रुपियाँ आम्दानी गर्नुहुने निरौलाले फागुन लागे यता कोही ब्यापारी सोध्न समेत नआएको बताए ।
उता उर्लाबारी–६ को पाठशाला कृषि सहकारी संस्थाले गरेको तरकारी खेतीबाट यो वर्ष सात लाख बढी घाटा हुने भएको छ । अध्यक्ष दुर्गाप्रसाद खतिवडाले भने – एक हजार बोट रोपेको गोलभेँडाबाट सामान्यतया ७० हजार किलो उत्पादन हुन्छ । अहिलेसम्म एक लाख रुपियाँको पनि बिक्री गर्न सकेका छैनौँ । माघ दोस्रो साताबाट उत्पादन सुरु भयो । त्यही बेलादेखि भारतबाट ६ रुपियाँ किलोको गोलभेँडा भित्रियो । अहिले प्रति केजी १० रुपियाँमा बिक्री गर्न खोज्दा पनि बिक्री भएको छैन् । भारतबाट आउने गोलभेँडा नेपाली बजारमा ल्याई पुर्याउँदा ६ रुपियाँ केजीमा आइपुग्ने गरेको बील विजक नै ब्यापारीले देखाएपछि हातगोडा गलेको अध्यक्ष खतिवडाको भनाइ छ । उहाँले भन्नुभयो– निजी जग्गामा गरेको हो भने प्रति केजी १२ देखि १५ रुपियाँ पर्छ । अझ भाडाको जग्गामा उत्पादन भएको हो भने २५ रुपियाँ पर्छ । उहाँले सुरुको एक हप्ता मात्र प्रति केजी ३५ रुपियाँका दरले गोलभेँडा बिक्री भएको बताउनुभयो । उर्लाबारी ६ स्थित पाठशाला कृषि सहकारीको तरकारी बारी यतिबेला गोलभेँडा पाकेर रातै छ । तर, ब्यापार छैन । उनले गोलभेँडा सडकमा किन फाल्छन् भन्ने प्रश्नको जवाफ भेटेको बताए ।
आइतबारदेखि मङ्गलबारसम्मका हाटबजारमा प्रति केजी २५ रुपियाँमा गोलभेँडा बिक्री भइरहेको तरकारी ब्यापारी गजेन्द्र अधिकारीले बताए।नेपाली उत्पादन महँगो पर्ने भएकोले बढी नाफा कमाउन भारतीय उत्पादन बेच्ने गरेको ब्यापारीकोे भनाइ छ ।
गोलभेँडा विराटनगर र काकरभिट्टा नाकाबाट भन्दा झापा र मोरङ जिल्लासँग जोडिएका भारतीय गाउँबाट आउने गरेको किसानहरू बताउँछन् । गतवर्षको यही समयमा पथरीशनिश्चरे ६ का तरकारी किसान बालकृष्ण राजवंशीले आलु र काउली ५० रुपियाँ प्रति किलोमा बिक्री गर्नुभएको थियो । यस्तै ब्रोकाउली ६० रुपियाँ, गोलभेँडा ५०,मुला २०,इस्कुस ३० रुपियाँमा बिक्री गरे तर,आफ्नो उत्पादन आफैं बिक्री गर्ने किसानहरू पनि सन्तुष्ट छैनन् । आफैं उत्पादन गरेर आफैं बिक्री गर्ने अर्का ब्यापारी इन्द्रजित मण्डलले भन्नुभयो– यताबाट दूध लिएर भारत जाने उताबाट त्यही क्यानमा तरकारी बोकेर आउने र बिक्री गर्ने गर्छन् । भारतमा सबै कुरा सस्तो छ, हामी प्रतिस्पर्धा नै गर्न सक्दैनौं मण्डलले गुनासो गरे ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस