बिरामी बोकेको जिप दुर्घटनामा एकको मृत्यु, चार घाइते
म्याग्दीको बेनी नगरपालिका–४ फापरखेतमा बिहीबार राति भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार घाइते भएका छन् ।
मालिका गाउँपालिका–३ पात्लेबाट बिरामी लिएर बेनीतर्फ आउँदै गरेको ग१ज ६७८८ नंको जिप सडकबाट म्याग्दी नदीमा खसेको हो । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले मालिका–३ का ६२ वर्षीय गोविन्द रोकाको बेनी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिए ।
रुखबाट लडेर घाइते भएका रोकालाई उपचारका लागि पोखरा लैजाँदै गरेको जिप दुर्घटना भएको हो । घाइते चालक मालिका–१ निस्कोटका ३० वर्षीय नरबहादुर रोकालाई थप उपचारका लागि पोखरा सिफारिस गरिएको छ । यसैगरी मालिका–३ पात्लेका २९ वर्षीय रवीन्द्र रोका, २० वर्षीया रेजिना रोका र ३८ वर्षीय खगेन्द्र रोकाको बेनी अस्पतालमा उपचार भइरहेको छ ।
चालकबाहेक मृतक र घाइते एकै परिवारका सदस्यहरु हुन् । तातोपानी प्रहरी चौकी, तातोपानी र पखेरका स्थानीय बासिन्दाले घाइतेको उद्धार गरेका थिए । दुर्घटनाबारे अनुसन्धान जारी रहेको प्रहरी नायब उपरीक्षक राईले बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस