मानेभञ्ज्याङमा बिओपी स्थापना
भारतीय सीमा क्षेत्रमा नेपालतर्फबाट सुरक्षा बढाइँदै लगिएको छ । सूर्योदय नगरपालिका–१ को भारतीय सीमावर्ती क्षेत्र मानेभञ्ज्याङमा सशस्त्र प्रहरी बल नेपालको सातौँ बोर्डर आउट पोष्ट बिओपी स्थापना भएको छ ।
सीमा सुरक्षामा सशस्त्र प्रहरी बल नेपालको बलियो उपस्थिति जनाउने उद्देश्यका साथ शनिबार इलामका सीमावर्ती क्षेत्रमा बिओपी स्थापना गर्ने अभियानअन्तर्गत सातौँ बिओपी स्थापना गरिएको हो । सीमावर्ती क्षेत्रको बिओपी सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राई र सशस्त्र प्रहरी बल नेपाल, नम्बर १ बराह बाहिनी सशस्त्र प्रहरी नायब महानिरीक्षक वंशीराज दाहालले संयुक्तरूपमा उद्घाटन गरे ।
सो अवसरमा नगरप्रमुख राईले स्थापना भएका बिओपीलाई व्यवस्थित, प्रविधिमैत्री, सबल र सुदृढ बनाउन जरुरी रहेको बताए । उनले नेपालको भूमि प्रयोग गरी आवतजावत गर्नसक्ने यातायातका साधन र सडक निर्माणमा स्थानीय, प्रदेश र सङ्घीय सरकारले ध्यान दिन नसके प्रहरीको मनोबललाई उच्च राखी काम गर्न सकिन्छ या सकिँदैन भन्नेबारेमा सोच्न जरूरी रहेको चिन्ता व्यक्त गरे ।
इलामको रोङ गाउँपालिकाको मेची किनारदेखि सन्दकपुर गाउँपालिकाको सन्दकपुर डाँडासम्मको ५२ किलोमिटरको सीमाक्षेत्रका सात स्थानमा बिओपी स्थापना गरिएको सशस्त्र प्रहरी नम्बर १ हेडक्वार्टर श्रीअन्तु गण इलामका प्रहरी उपरीक्षक सुधीरजङ्ग थापाले जानकारी दिए । सलकपुर, समालबुङ, छब्बिसे, पशुपतिनगर, मानेभञ्ज्याङ, जौवारी र कालपोखरीमा बिओपी स्थापना भइसकेको छ ।
आगामी दिनमा रोङको माथिल्लो पाटापुर, सूर्योदयको सुङतुङ, खोला गोदाम, हिले, चित्रेगुम्बा, माईजोगमाइको मेग्मा, सन्दकपुरको गैरीबास र आलटारमा बिओपी राख्नका लागि पहल भइरहेको छ । मानेभञ्ज्याङमा सशस्त्र प्रहरी नायब निरीक्षक एकराज श्रेष्ठको कमाण्डमा काम भइरहेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस