चीनमा २५० नयाँ अर्बपति थपिए
एएफपी- शेयर बजारमा उछाल आएसँगै चीनमा गत वर्ष सन् २०२० मा २०० भन्दा बढी नयाँ अर्बपति थपिएका छन् । विश्वका धनाढ्यका बारेमा अध्ययन गर्ने हुरुन ग्लोबल रिच लिस्टले मङ्गलबार सार्वजनिक गरेको सूचीमा चीनमा विगत पाँच वर्षको अवधिमा अर्बपतिको संख्या दोब्बरले बढेको उल्लेख छ ।
विश्वमै दोस्रो ठूलो अर्थतन्त्र रहेको चीनले पछिल्ला केही वर्षदेखि विकासमा तिब्र रुपमा फड्को मारेको छ । विश्वका अधिकांश मुलुकमा कोरोनाभाइरस महामारीले अर्थतन्त्रमा गम्भीर असर पारे पनि चीनले कोरोनाभाइरसलाई समयमै नाटकीय रुपमा नियन्त्रण गरेपछि सन् २०२० मा पनि राम्रो प्रगति गरेको छ ।
हुरुनका अनुसार सन् २०२० मा २५९ जना अर्ब डलरको सूचीमा प्रवेश गरेका छन् । चीनमा यो सहित कूल अर्बपतिको संख्या १ हजार ५८ पुगेको छ । विश्वमै अर्बपतिको एक हजारको संख्या पार गर्ने चीन पहिलो मुलुक पनि भएको छ ।
तुलनात्मक रुपमा, दोस्रो राम्रो प्रगति गर्ने मुलुक अमेरिकामा ७० जना नयाँ अर्बपतिको उदय भएको छ । यो सहित अमेरिकामा कूल अर्बपतिको संख्या ६९६ पुगेको छ ।
चीनमा पानीको व्यापार गर्ने नोङ्फुका संस्थापक झोङ शानशानको सम्पत्ति ८५ अर्ब डलर पुगेको छ । विगतमा निर्माण कार्यमा संलग्न झोङले गत वर्ष हङकङमा प्राथमिक शेयर (आइपिओ) जारी गरेर ११ अर्ब डलर नगद संकलन गर्न सक्षम भएका थिए ।
एकै वर्ष तीन व्यक्तिले ५० अर्ब डलर भन्दा बढी सम्पत्ति जुटाएका छन् । सर्भेका अनुसार टेस्लाका एलन मस्क, अमेजनका जेफ बेजोस र पिन्डुओडुका कोलिन हुआङको सम्पत्ति ५० अर्ब डलरले बढेको छ ।
समग्रमा, चीनले विश्वमै सम्पत्ति सिर्जना गर्नेतर्फ अग्रस्थान बनाइरहेको छ । हुरुनका अनुसार विगत पाँच वर्षको अवधिमा चीनले ४९० जना नयाँ अर्बपति जन्माएको छ भने अमेरिकाले १६० जना थपेको छ ।
हुरुन प्रतिवेदनका अध्यक्ष रुपर्ट हूगवर्फले कोरोनाभाइरसको महामारी भएपनि गत वर्ष एक दशकयता केही व्यक्तिले सबैभन्दा बढी आम्दानी गर्न सफल भएको बताए । यसको मुख्य कारण शेयर बजारमा नयाँ कम्पनीको सूचीकरण र शेयर बजारमा आएको उछाल मुख्य रुपमा जिम्मेवार छ ।
उनले भने, सम्भवतः विगत १०० वर्षमा एसियाले बाँकी विश्वको भन्दा बढी अर्बपति सिर्जना गरेको छ । सबैभन्दा बढी अर्बपति पनि अहिले चिनियाँ शहरमा रहेको सर्भेले देखाएको छ । अर्बपति रहेबसेका विश्वका उत्कृष्ट १० शहरमध्ये छ वटा शहर चीनमै छन् । विगत छ वर्षदेखि लगातार बेइजिङ पहिलो स्थानमा छ ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस