व्यावसायिक फर्ममा महिलाको स्वामित्व बढ्दै
झापाको दमकमा थपिएका नयाँ व्यावसायिक फर्ममा महिलाको सङ्ख्या बढ्दै गएको छ । कोरोना सङ्क्रमण भए पनि जिल्लाको ठूलो व्यापारिक क्षेत्र रहेको दमकमा पुरानै लयमा दैनिकी फेरिएसँगै नयाँ व्यावसायिक फर्ममा महिलाको सङ्ख्या बढी देखिएको हो ।
दमक उद्योग वाणिज्य सङ्घको तथ्याङ्कअनुसार कोरोना सङ्क्रमणबीच चालू आर्थिक वर्ष २०७७÷०७८ को आठ महिनाका अवधिमा मात्रै १४० नयाँ व्यावसायिक फर्म दर्ता भएका छन् । तीमध्ये ७५ प्रतिशत बढी महिलाका नाममा दर्ता भएका छन् ।
सङ्घका अध्यक्ष गोकुल श्रेष्ठले कोभिडपछि पछिल्लो समय विस्तारै पुरानै लयमा आर्थिक चलायमान बन्दै गएपछि दमकमा नयाँ व्यवसायमा महिलाको आर्कषण बढ्दै गएको बताए । कानूनीरुपमै सम्पत्तिमा महिलाको स्वामित्व बढ्दै गएको तथ्य यसबाट प्रष्ट भएको अध्यक्ष श्रेष्ठको बुझाइ छ । नीतिगतरुपमा समेत महिला उद्यमी व्यवसायीलाई सहुलियत कर्जा उपलब्ध गराउने बैंक तथा वित्तीय संस्थाको नीतिका कारण पनि व्यावसायिक फर्म महिलाका नाममा सञ्चालन हुने क्रम बढेको हुनसक्ने श्रेष्ठ बताउँछन् ।
थपिएका फर्ममा अधिकांश होटल तथा खाजा घरसँगै फेन्सी तथा शृङ्गारका साधन, किरानालगायत व्यवसाय थपिएका सङ्घका कर्मचारी प्रकाश दाहाल बताउँछन् । उनका अनुसार चालू आवमा हालसम्म सङ्घका सदस्यका रुपमा रहेका कूल ६२४ व्यावसायिक फर्म नवीकरण भएका छन् । सङ्घले १४० नयाँ फर्म दर्ता गरेबापत कूल रु एक लाख २५ हजार र ६२४ फर्म नवीकरण गरेबापत कूल रु दुई लाख २४ हजार शुल्क सङ्कलन गरेको छ ।
सङ्घले विश्वभर फैलिएको कोरोना महामारीका कारण नोक्सानी व्यहोरेका व्यवसायीलाई राज्यले दिने सेवासुविधा राज्यकै नीतिमा निर्भर रहने भए पनि सङ्घले आफ्ना सदस्यलाई नवीकरण शुल्कमा छुट दिएको छ । सङ्घले कोरोना महामारीका कारण गत पुस मसान्तभित्र सदस्यता नवीकरण गर्न आउने सदस्यलाई विलम्ब शुल्क नलिएको सङ्घले जनाएको छ । सङ्घले आगामी असार मसान्तभित्र सदस्यता नवीकरण गर्ने व्यवसायीलाई लिँदै आएको नवीकरण शुल्कमा बढीमा ५० प्रतिशतसम्म छुट दिने निर्णय गरिएको तृतीय उपाध्यक्ष रमा सुब्बाले बताइन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस