तरकारीमा आत्मनिर्भर बन्दै कुमालखाडावासी
दैलेखको आठबीस नगरपालिका– ३ कुमालखाडीवासी तरकारी व्यवसायबाट आत्मनिर्भर बन्दै गएका छन् । गुजाराका लागि मात्र तरकारी फलाउँदै आएका किसान व्यावसायिक तरकारी खेती गर्न थालेपछि आत्मनिर्भर बनेका हुन् ।
तरकारी उत्पादन गर्नथालेपछि आम्दानीका साथै कुमालखाडा गाउँको नामसमेत बदिलएको स्थानीय बासिन्दा पवित्रा माझीले बताइन्। “पहिला गाउँलाई कुमालगाउँ भन्थ्यौं, आजभोलि तरकारी नमूना गाउँ भनेर चिनिएको छ, विदेशिएका पुरुषसमेत मुग्लानबाट फर्केर तरकारी खेतीतिर लागेका छन्, कसैले तरकारी खेतीको व्यापारबाट तराईमा घडेरीसमेत किन्न योजना बनाएका छन्”, उनले भनिन् ।
आजभोलि तरकारी खेती देखेर सोही ठाउँकी ६५ वर्षीया धना कार्की दङ्ग छिन् । विगतका दिन सम्झिदै उनले भनीन्, “पहिला हामी आलु, चना, मुसुरो केराउ लगाउथ्यौं, काउली, बन्दा, गोलभेडाको चलन थिएन, नून र खुर्सानीसँग छाक टार्थौ, पाहुना आएको दिनमा छरछिमेकीबाट दही दूधको जोहो गर्नुपथ्र्यो।”
तरकारीले आफ्नो जीवनमा समेत परिवर्तन ल्याएको अर्की महिला नानीदेवी शाहीले बताइन । केही वर्षपछि कर्णाली राजमार्गको ट्रयाक खोलिएपछि आम्दानीको आशा बोकेका कुमालाखाडीवासीको भने मुग्लानसँगको साइनो छुटेन । पैसा कमाउन भारत नै जानुपर्छ पुरानो चलनले निरन्तरता पाइरह्यो । बस्तीमा स्वदेशमै बसेर आम्दानी हुन्छ भनेर सम्झाउने व्यक्ति थिएन ।
“कालापहाड नगएर कहाँ जाने जहान परिवार पाल्न पराइदेशमा पसिना बगाउनुपर्ने बाध्यता थियो”, स्थानीयवासी धर्मराज कार्कीले भने, “तलतिर कर्णाली नदी, सिलेटको छाना परम्परागत शैलीमा निर्माण भएका घरले सुन्दरबस्ती पराइदेश जाने पुरुषको लर्कोले गाउँ नै सुनसान देखिन्थ्यो, गाउँमा कोही दुःखी बिरामी पर्दा महिला नै हुन्थे ।”
पछिल्लो समय जाक्सी कुमालखाडाको गाउँले पहिचान बदलेको छ । पराइ देश जान छोडेर पुरुष गाउँकै तरकारीबारीमा भेटिन्छन् । आम्दानीको स्रोत गाउँकै तरकारी छ । तरकारीबाटै तराईमा जग्गा जमीन जोड्ने योजनामा छन् कुमालखाडावासी ।
पुरुषविहीन हुँदा सुनसान बस्तीमा अहिले मानिस आवतजावतले रमझम बेग्लै छ । नून खुर्सानीको साहारामा छाक टार्ने गरेका कुमालखाडीवासी तरकारी उत्पादन गरेर आम्दानी गर्न थालेका छन् । त्यहाँ विदेशिनेको सङ्ख्यामा कमी आएको छ । घरमै बसेर महिनामा रु २० हजारदेखि रु ३० हजारको आम्दानी गर्ने गरेको उनीहरु बताउँछन् । कुमालखाडावासीको तरकारी सुर्खेतसम्म निर्यात हुने गरेको छ ।
कृषकले बारीमा काउली, बन्दागोपी, गाँजर, मुला, गोलभेडा उत्पादन गर्दै आएका छन् । एउटै सिजनबाट एउटै गरा तरकारीबाट आफूले रु १२ हजार आम्दानी गरेको स्थानीयवासी शान्ति सिजापतिले बताइन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस