मुटु अस्पताल सञ्चालनमा
जिल्लामा चितवन मुटु अस्पताल सञ्चालनमा आएको छ । मुटुसँग सम्बन्धित सबै खालका उपचार गर्ने गरी अस्पताल सञ्चालनमा ल्याइएको हो । भरतपुर महानगरपालिका–१० दूरसञ्चार रोडमा मुटुरोग विशेषज्ञसहितको समूहले अस्पताल सञ्चालनमा ल्याएको हो । अस्पतालका अध्यक्ष मुटुरोग विशेषज्ञ डा शङ्कर लौडारीका अनुसार अस्पतालमा चौबीसै घण्टा मुटुको भिडियो एक्सरे, इको कार्डियोग्राफी, होल्टर मनिटर, एबीपिएम, इसिजी सेवा उपलब्ध छ ।
यसैगरी मुटुको मांसपेशीमा पर्ने असरको इकोबाट अध्ययन गरिने स्टे«न इमेजिङ इको, डोबुस्टे«स इको, टिएमटीलगायतका सेवा अस्पतालले दिँदै आएको छ । अस्पतालमा मुटुसँग सम्बन्धित रहेर रेडियोलोजी तथा इमेजिङ सेवा र शल्यक्रियासमेत हुने गर्दछ । अस्पतालमा सिसीयू र आइसीयू सेवासमेत सञ्चालनमा ल्याइएको छ ।
अस्पतालमा छिट्टै क्याथल्याब सञ्चालनमा ल्याइँदैछ भने ओपनहर्ट सर्जरीको योजनासमेत रहेको डा लौडारीले बताए । उहाँका अनुसार वाग्मती प्रदेशमा गङ्गालाल हृदयरोग केन्द्रपछिको मुटुरोग अस्पतालका रूपमा यसलाई विकास गरिँदैछ । चितवनसहित छिमेकी जिल्लाका बिरामी यसबाट लाभान्वित हुने उनकाे भनाइ छ ।
विगत ११ वर्षदेखि मुटुरोग उपचारमा सक्रिय लौडारी र विगत १३ वर्षदेखि मुटुको उपचारमा संलग्न डा मणिप्रसाद गौतमको नेतृत्वमा चिकित्सक, स्वास्थ्यकर्मीले अस्पताल सेवा दिँदै आएका छन् । अस्पतालका प्रबन्ध निर्देशक प्रभात शर्माका अनुसार स्वदेशी र विदेशमा रहेका नेपाली गरी २४ जनाको लगानीमा अस्पताल सञ्चालनमा ल्याइएको हो । नेपाली चिकित्सक र स्वास्थ्यकर्मी पनि लगानीकर्ताका रूपमा छन् । हालसम्म रु १० करोड लगानी भएको भन्दै उहाँले सेवा विस्तार गर्दै जाँदा लगानी थपिँदै जाने बताए ।
अस्पताल सञ्चालनमा आएसँगै यस क्षेत्रका बिरामी राजधानी र विदेश जान नपर्ने गरी अत्याधुनिक सुविधासम्पन्न बनाउँदै लगिने शर्माको भनाइ छ । पच्चीस शय्याको सो अस्पतालमा आठ चिकित्सकसहित ४५ जना कार्यरत रहेको अस्पतालका सूचना अधिकारी महेश पाण्डेले बताए । अध्यक्ष डा लौडारीका अनुसार मुटुरोगको कारकतत्वमा उच्च रक्तचाप, मधुमेह, कोलेस्ट्रोल, धुमपान, मद्यपान, मोटोपन, व्यायाम रहेका छन् । कतिपयलाई वंशाणुगतरूपमा पनि यो रोग देखिने गर्दछ ।
नेपालमा प्रति १० हजारमा ४०० देखि ५०० सम्मलाई मुटुरोग हुने गरेको अध्ययनले देखाएको लौडारीले बताए । उनले भने, “वर्षको एकपटक मुटुको परीक्षण सबैले गर्नुपर्छ ।” समयमै रोगको पहिचान भएमा उपचार सहज हुने उहाँको भनाइ छ । मुटुसँग सम्बन्धित विशिष्ट विज्ञलाई समेत अस्पताल झिकाएर परीक्षण गराउने योजना रहेको उहाँले जानकारी दिए। चितवन मध्यनेपालको मेडिकल क्षेत्रमा अग्रणी जिल्लाका रूपमा परिचित छ । यहाँ भारतीय सीमा क्षेत्रदेखि बिरामी आउने गर्दछन् । मुटुका लागि अलग्गै अस्पताल खुलेसँगै यस क्षेत्रका धेरै बिरामी लाभान्वित हुने देखिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस