• जीवनशैली | Jiwanshaili
  • महाशिवरात्रिको रौनकः गङ्गामा लाखौंले गरे ‘शाही स्नान’


    एएनआई- हिन्दु धर्मावलम्बीहरुको महान पर्व महाशिवरात्रिका अवसरमा बिहीबार भारतको उत्तराखण्डको हरिद्वारस्थित हर की पौरी घाटमा लाखौं श्रद्धालुले स्नान गरेका छन् ।

    यस शाही स्नानलाई व्यवस्थित तुल्याउन कडा सुरक्षा व्यवस्था गरिएको स्थानीय अधिकारीहरुले बताएका छन् । हरिद्वार कुम्भ मेला प्रशासनका अधिकारीहरुले यहाँ पाँच हजारभन्दा बढी सुरक्षाकर्मी, सयौं सिसिटिभी र ड्रोनको व्यवस्था गरिएको जानकारी दिएका छन् ।

    सन् २०२१ को कुम्भ मेलाको यो पहिलो शाही स्नान हो । प्रमुख कार्यक्रमहरुको कार्यसूची अनुसार, यस वर्ष हरिद्वारमा चार पटक “शाही स्नान” र नौ पटक “गङ्गा स्नान” हुनेछ ।

    हरिद्वारको कुम्भमेलाको व्यवस्थापनमा खटिएका प्रहरी महानिरीक्षक सन्जय गुन्ज्यालले दिउँसोसम्ममा २२ लाख श्रद्धालुले स्नान गरिसकेको जानकारी दिएका छन् ।

    उत्तराखण्डका नवनियुक्त मुख्यमन्त्री तिरथ सिंह रावतले महाशिवरात्रिमा सहभागी हुने श्रद्धालुको स्वागतका लागि हेलिकप्टरबाट पुष्पवृष्टि गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएका थिए ।

    कोरोना भाइरस महामारीका कारण हरिद्वारमा यस वर्ष कुम्भमेला आगामी अप्रिल १ देखि अप्रिल ३० सम्म एक महिना गर्नेगरी तय भएको छ । महाशिवरात्रिको स्नानलाई पनि कुम्भमेलाकै एक भागका रुपमा लिइएको छ । महाशिवरात्रिलाई हिन्दुहरुले शिवालयहरुमा पूजापाठ र स्नान गरी निकै महत्वका साथ मनाउने गर्दछन् ।


    क्याटेगोरी : प्रवास

    प्रतिक्रिया दिनुहोस


    थप समाचार