कार्यालयमै गएर कर्मचारीको स्वास्थ्य परीक्षण
डोटी जिल्लामा कार्यालयमै गएर कर्मचारीको स्वास्थ्य जाँच गर्ने अभियान शुरु गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयको आयोजनामा अहिले जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीको स्वास्थ्य जाँच गर्न थालिएको हो ।
सरकारी तथा गैरसरकारी कर्मचारीमा काममा अल्छीपना, मोटोपना नहोस् र स्वास्थ्य परीक्षणमा सबैले ध्यान दिऊन् भन्ने हेतुले उक्त अभियानको शुरुआत गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले बताए । उता सुदूरपश्चिम प्रदेश सरकारले पनि ‘म हिँड्छु, मेरो प्रदेश हिँड्छ’ भन्ने अभियान शुरुआत गरेसँगै यहाँका सरकारी कार्यालयमा गएर कर्मचारीको स्वास्थ्य परीक्षण अभियान शुरुआत गरिएको हो ।
उक्त अभियानअन्तर्गत पहिलो दिन बिहीबार प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराई, सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीलगायत जिल्ला प्रशासन कार्यालयका सबै कर्मचारीको स्वास्थ्य परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कर्मचारीको स्वास्थ्य परीक्षणअन्तर्गत उच्च रक्तचाप, मोटोपना, बिएमआई, मधुमेहको मात्रा, कोलेस्ट्रोल, केटिनाइनलगायतका रोगको परीक्षण गरिने जिल्ला स्वास्थ्य कार्यालयका चिकित्सक सूर्य विष्टले जानकारी दिए ।
स्वास्थ्य कार्यालयले सञ्चालन गरेको कर्मचारीको स्वास्थ्य जाँच अभियान फाइदाजनक रहेको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए । कर्मचारीको स्वास्थ्य जाँच अभियानको शुरुआतले प्रत्येक व्यक्ति स्वस्थ हुनुपर्छ, सक्रिय हुनुपर्छ, खानपिनमा पनि ध्यान दिनुपर्छ भन्ने सन्देश दिने गरेको जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज जोशीले बताए । स्वास्थ्य परीक्षण टोलीमा ल्याबका कर्मचारी, नसर्ने रोगसम्बन्धी तालिमप्राप्त स्वास्थ्यकर्मी सहभागी हुने गरेका छन् ।
पहिलो चरणअन्तर्गत जिल्लास्थित सरकारी कार्यालय र दिपायलमा रहेका सङ्घ तथा प्रदेश सरकार मातहतका कायालयमा कार्यरत कर्मचारीको स्वास्थ्य परीक्षण गरिन थालिएको छ । यसैगरी आगामी दिनमा जिल्लाका नौवटै स्थानीय तहका स्वास्थ्य शाखाको समन्वयमा जिल्लाव्यापी बनाउने योजना रहेको जिल्ला स्वास्थ्य प्रमुख मलासीले जानकारी दिए।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस