बेनी–जोमसोम सडक चार दिन बन्द हुने
म्याग्दीको उत्तरी क्षेत्र हँुदै हिमाली जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक चार दिनका लागि बन्द गरिने भएको छ । उत्तर/दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडक २०७७ चैत १४ देखि १७ गतेसम्म बन्द गरिने जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी जगदीश अर्यालले सोमबार एक सूचना जारी गरेर सडक स्तरोन्नति र निर्माणका लागि जिल्ला सुरक्षा समितिको निर्णयअनुसार बेनी–जोमसोम सडकमा चार दिन सवारी साधन आवतजावत रोकिने जानकारी गराएका हुन।
म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रेभिर सडक स्तरोन्नति र मुस्ताङको थासाङ गाउँपालिका–४ को कैकुखोलामा सडक बेस बगाउने तथा पहिरोका कारण सवारी साधन चल्न नसक्ने र चलाउँदा पनि अत्यन्तै जोखिमयुक्त हुने भएकाले जोखिमबाट सम्भावित दुर्घटना रोक्न सवारी आवागमन बन्द गर्नुपरेको प्रशासनले जनाएको छ ।
कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम ७६ किमी सडक चार प्याकेजमा स्तरोन्नति भइरहेको छ । प्याकेज–२ को काभ्रेभिरमा पुस १९ गतेदेखि सडक चौडा गर्न शर्मा–गजुरमुखी जेभीले पहाड काट्ने काम गरिरहेको छ । त्यहाँ एक किलोमिटर ६०० मिटर दूरीमा पहाड काट्नुपर्ने जनाइएको छ ।
काभ्रेभिर बेनी–जोमसोम सडकको जोखिमयुक्त सडक पनि हो । निर्माण कम्पनीले नेपाली सेनाको सहयोगमा विस्फोटक पदार्थको प्रयोग गरी सडक चौडा गर्ने काम गरिरहेको छ । यस्तै सोही खण्डको थासाङ–४ कैकुमा पटक–पटक बाढीले सडक बगाउने र पहिरो जाने हुँदा सडक अवरुद्ध हुने गर्छ । सडक स्तरोन्नति गरी सडक सहज बनाउन जिल्ला सडक सुरक्षा समितिले यसप्रकारको निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले बताए ।
झण्डै रु छ अर्ब लागतको राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक आयोजना विसं २०७४ देखि निर्माण शुरु भएको हो । एक सय १० किलोमिटर दूरीको जोमसोम–कोरला सडक ग्राभेल गर्ने काम भइरहेको छ । आयोजनाका अनुसार जोमसोम–कोरला सडकको सात प्याकेजमध्ये चार प्याकेजको काम सकिएको छ । बेनी–जोमसोम सडकमा ६० प्रतिशत र जोमसोम–कोरला सडकमा ८५ प्रतिशत भौतिक प्रगति भएको आयोजनाका इञ्जिनीयर अश्विनीकुमार यादवले बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस