अमेरिकाको कोलोराडोमा गोली हानेर १० जनाको हत्या
अमेरिकी राज्य कोलोराडोमा सोमबार एउटा खाद्यान्नको सुपरमार्केटमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । मारिनेमा एक जना प्रहरी पनि रहेका छन् ।
प्रहरीले अमेरिकी इतिहासमा भएका सामूहिक आमहत्याकै यो एउटा विभत्स हत्या शृंखला रहेको जनाएको छ ।
गोली चलाउने एक शंकास्पद व्यक्तिलाई प्रहरीले घाइते अवस्थामा गिरफ्तार गरेको छ । बाउल्डर काउन्टीका जिल्ला न्यायाधीवक्ता माइकल डाउहार्टीले घटनास्थल कोलोराडो राज्यको राजधानी डेन्भरबाट करिब ५० किलोमिटर उत्तरपश्चिममा रहेको जानकारी दिए ।
प्रहरी प्रमुख मरिस हेरोल्डले किङ सूपर्स नामको सुपरमार्केटमा गोली चलेको खबर पाउनासाथ घटनास्थल पुगेका ५१ वर्षीय प्रहरी एरिक टाल्लीको पनि गोली लागेर मृत्यु भएको जानकारी दिए ।
लाइभस्ट्रिम गरिएको भिडियोमा एक जना श्वेत अधबैंसे व्यक्तिलाई प्रहरीले घटनास्थलबाट बाहिर निकालेको देखिएको थियो ।
राष्ट्रपति जो बाइडेनलाई उक्त घटनाका बारेमा जानकारी गराइएको ह्वाइट हाउसका प्रेस सचिव जेन साकीले बताएका छन् । बाइडेनले गत महिना पनि बन्दुक राख्ने बारेमा सुविचारित निर्णय गर्न संसद समक्ष आग्रह गरेका थिए ।
कोलोराडोका गभर्नर जारेड पोलिसले बाउल्डरमा यस्तो गोलीकाण्ड भएको सुन्दा आफूलाई निकै दुःख लागेको बताएका छन् ।
सुपरमार्केट भित्र रहेका उक्त घटनाका प्रत्यक्षदर्शीहरुले पछाडिको ढोकाबाट भाग्नुअघि धेरै पटक गोलीको आवाज सुनेको बताएका छन् । आठ पटक बन्दुकको गोलीको आवाज सुनेका रायन बोरोस्कीले आफू भाग्यले बाँचेको सिएनएनलाई प्रतिक्रिया दिएका छन् ।
दर्जनौं बख्तरबन्द गाडी, एम्बुलेन्स र शसस्त्र प्रहरी तत्कालै घटनास्थलमा पुगेका थिए ।
कोलोराडोमा अमेरिकी इतिहासमै निकै डरलाग्दा दुई वटा आमहत्याका घटना भइसकेका छन् । सन् १९९९ मा दुई जना युवाले आफूहरुले आत्महत्या गर्नुअघि कोलम्बाइन उच्च माध्यमिक विद्यालयमा आक्रमण गरी विद्यार्थी र शिक्षक गरी १२ जनाको हत्या गरेका थिए ।
त्यसपछि सन् २०१२ मा एक जना भारी हातहतियार लिएका एक व्यक्तिले कोलोराडोको अरोरास्थित चलचित्र हलभित्र प्रवेश गरी गोली चलाएर १२ जनाको हत्या गरेका थिए ।
क्याटेगोरी : प्रवास, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस