मादीका सात वडामा सुविधासम्पन्न कार्यालय भवन
कास्की जिल्लाको मादी गाउँपालिकाका विभिन्न सातवटा वडामा सुविधासम्पन्न कार्यालय भवन निर्माण गरिएको छ । कोरोना भाइरसका कारण मुलुकमा बन्दाबन्दीको अवस्थामा पनि स्वास्थ्य सुरक्षा अपनाएर सातवटा वडामा नयाँ कार्यालय भवन निर्माण गरिएको हो ।
जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर क्षेत्रीको संयोजकत्वमा समन्वयका उपप्रमुख सावित्री भण्डारी, सदस्यहरु, समन्वय अधिकारी नवराज बराल, प्राविधिक, सञ्चारकर्मीसहितको टोलीले मङ्गलबार वडा नं ८ र ९ को नवनिर्मित कार्यालय भवनको स्थलगत अनुगमन गरेको हो ।
जिल्ला समन्वय समिति कास्कीको ६० प्रतिशत एवं गाउँपालिकाको ४० प्रतिशतको साझेदारीमा कूल पाँच करोड १७ लाख ७२ हजार ५०९ लागतमा सातवटा वडा कार्यालय भवन निर्माण गरिएको बताइएको छ । जिल्ला समन्वय समिति कास्कीको मौजुदा कोषको रु तीन करोड नौ लाख ६३ हजार ५०४ र गाउँपालिकाको रु दुई करोड ७० लाख नौ हजार १० लागतमा नयाँ भवन निर्माण गरिएको प्रमुख क्षेत्रीले जानकारी दिए ।
उहाँका अनुसार पहिलो तलामा पाँच कोठा पक्की र दोस्रो तलामा ट्रस सभाहलसहितको दुईतले चिटिक्क परेका एउटै मोडलमा निर्माण गरिएका भवनमध्ये वडा नं ४, ५, ८, ९ र १२ का सम्पन्न भई नयाँ कार्यालयबाट वडावासीलाई सेवा प्रदान गरिएको छ भने वडा नं ६ र ७ का भवन निर्माण अन्तिम चरणमा पुगेका छन् । वडा नं १, २, १० र ११ भने साविकको गाविस भवनबाट सेवा प्रदान गर्दै आएका छन् ।
साझेदारी कार्यक्रमअनुसार पालिकाको वडा नं ४ को रु ७० लाख १६ हजार ६१८, ५ को रु ६७ लाख ३६ हजार ५९०, ६ को रु ९३ लाख ८१ हजार ६४४, ७ को रु ७० लाख २६ हजार ८७६, ८ को रु ७२ लाख ३० हजार ३४२, ९ को रु ७२ लाख तीन हजार ६७२ र १२ को रु ६९ लाख ७६ हजार ७०७ लागतमा निर्माण गरिएको हो ।
टोलीले मादी गाउँपालिकामा सङ्घ, प्रदेश र स्थानीय तहबाट भइरहेका सडक तथा निर्माणाधीन इदीखोला, वार्दीखोला, मकैखोला र मादी नदीमाथिको धुम्ले पुलको निर्माण अवस्था र गुणस्तरका बारेमा जानकारी लिएको थियो । सो अवसरमा समन्वय प्रमुख क्षेत्रीले तोकिएको समय र गुणस्तरीय विकास निर्माणमा कुनै पनि सम्झौता नहुने बताउँदै अनुगमनले विकास निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
अनुगमनका क्रममा निर्माणमा देखिएका कमी कमजोरीलाई नसच्याएसम्म निर्माण व्यवसायीलाई पूरा रकम भुक्तानी दिन नसकिने समन्वय प्रमुख नवराज बरालले बताए । सेवाग्राहीलाई सुविधा दिने कुरामा कर्मचारी वर्ग जिम्मेवार हुनुपर्नेमा उनको जोड थियो ।
फाइल तस्बिर
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस