• जीवनशैली | Jiwanshaili
  • ह्विलचेयर यात्रा गरेर गिनिज बुकमा रेकर्ड कायम गर्ने चाहना


    ‘अपाङ्गता हुँदैमा जिन्दगीको अन्त्य हुँदैन’ भन्ने भावना बोकेर मेची महाकाली यात्रामा निस्केका ३८ वर्षीय रामबहादुर गोले (तामाङ) गिनिज बुकमा लामो ह्विलचेयर यात्रा गरेर रेकर्ड कायम गर्न चाहाने र सोही सपना बोकेर गोले मेचीबाट ह्विलचेयरको यात्रा गरी कञ्चनपुरसम्म आइपुगेगा छन् ।

    मेचीको काँकडभित्ताबाट ह्विलचेयर चढेर यात्रामा निस्केका गोले २६ दिन लगाएर यहाँ आइपुगेका हुन । ‘स्पाइनल कर्ड इन्जुरी’(मेरुदण्डको पक्षाघात) भएका उनि भन्छन, “दृढ इच्छा शक्ति भए फरक क्षमता भएका व्यक्ति पनि सपाङ्गझैँ समाजमा काम गर्न सक्छन् भन्ने उद्देश्यसहित ह्विलचेयरको पहुँच बढाउनका लागि यात्राको थालनी गरेको छु ।” लुम्बिनीदेखि भारतको बोधगया (बिहार) सम्मको करिब ५५० किलोमिटर लामो यात्रा र नमबुद्धदेखि ३६६ किमी ह्विलचेयरबाट उनले यात्रा पूरा गरिसकेका छन् । लामो यात्रा गरे पनि त्यो यात्रा सोखका लागि मात्रै गरेको उनले बताए। ती यात्राको त्यति प्रचार नगरेको उनले बताए । मेची महाकाली यात्रा गोलेको तेस्रो हो ।

    “मलाई घुमिरहन, नयाँ मान्छे भेट्न मन पर्छ तर हाम्रो समाज, राज्य हामीजस्तालाई भित्रभित्रै गुम्साइरहने खालको छ । विभिन्न चुनौतीको सामना गर्दै यात्रामा निस्केको छु”, उनले भने । दाताको सहयोगमा उनले यहाँसम्मको कठिन यात्रा पूरा गरेको हो । गोलेको बस दुर्घटनामा परी कम्मरमुनिको भाग चल्दैन । सोही दुर्घटनामा परेर उनले एउटा आँखा गुमाएको छन् । उनि हिँड्ने भनेकै ह्विलचेयरले हो ।

    ह्विलचेयरमा यहाँ आइपुगेका उनले स्पाइनल इन्जुरी पुनःस्थापना केन्द्रमा दौँतरी परामर्शदाताका रूपमा काम गर्दै आएका छन् । बास्केटबल खेल्ने, स्वीमिङ गर्ने कार्यसँगै अपाङ्गता भएकालाई पुनःस्थापना केन्द्रमा तालीम दिने कार्य गर्दै आएको उनले बताए । “जीवन सोचेभन्दा रमाइलो छ”, उनि भन्छन, “जिउन जान्नुपर्छ । अपाङ्गता भएकामा भाग्यलाई सम्झेर बस्दिनँ । भाग्यमानी ठान्छु । अपाङ्गता नभएको भए मैले जिन्दगी बुझ्ने थिइनहोला ।” विसं २०६७ पुस १८ गते साथीहरूसँगै खासा घुम्न गएको बेला दोलालघाटको चौबन्ने किलोमा बस दुर्घटनामा पर्दा गोले अपाङ्ग भएका हुन् ।

    सबैभन्दा लामो ह्विलचेयर यात्रा गरेर गोले विश्व कीर्तिमान राख्न चाहान्थे । “गिनिज बुकमा ह्विलचेयरमा सबैभन्दा लामो दूरी पार गर्ने व्यक्तिका रूपमा रेकर्ड राख्न चाहन्छु”, उनले भने, “विगतका लामा यात्रालाई चर्चामा ल्याउन नसक्दा लक्ष्य पूरा हुन सकेन । अब लक्ष्य पूरा नहुँदासम्म यात्रा जारी रहन्छ ।”

    हाल ह्विलचेयरमा लामो दूरी पार गर्नेमा भारतका सुरेन्द्र यादव र शैलेन्द्र हसनको नाम गिनिजबुकमा कायम छ । दुवै जनाले २५० किलोमिटर यात्रा पूरा गरेर रेकर्ड राखेका हुन् । आज बिहान ८ बजे कञ्चनपुरको गड्डाचौकीमा यात्राको समापन गरिने उनले बताए । यात्रामा उनिसँगै उनकको भतिजा मानबहादुर तामाङ सहयोगीका रूपमा सँगै रहेका छन् । मेची महाकाली यात्रामा निस्केका गोलेका श्रीमतीसँगै एक छोरा र एक छोरी रहेका छन् । उनि भन्छन, “अपाङ्गता भएका व्यक्तिले पनि समाजमा गहिरो सन्देश दिने गरी कार्य सक्छन् । प्रेरणादायी कार्य गरेर देखाउन सक्नुपर्छ । त्यसका लागि हिम्मत र आँट देखाउनुपर्छ ।”


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस