खिदिमा रेन्बो ट्राउटको स्रोत केन्द्र बन्दै
खोटाङको साकेला गाउँपालिका–३ खिदिमाका बासिन्दाले सामूहिकरूपमा रेन्बो ट्राउट पालन शुरु गरेका छन् । रेन्बो ट्राउट प्रजातिको माछा, भुरा तथा रेन्बो ट्राउटलाई दिइने दाना उत्पादनका लागि स्रोतकेन्द्रका रूपमा विकास गर्दै आर्थिक आयआर्जन गर्ने लक्ष्यका साथ तावाहाङ रेन्बो ट्राउट कृषक समूहमा आबद्ध किसानले रेन्बो ट्राउटको व्यावसायिक पालन शुरु गरेका हुन् ।
आर्थिक वर्ष २०७६ र ०७७ मा प्रदेश सरकारअन्तर्गतको मत्स्य विकास निर्देशनालयको रु २५ लाख, वडा कार्यालयको रु पाँच लाख, गाउँपालिकाको रु चार लाख र तावाहाङ रेन्बो ट्राउट कृषक समूहको रु १६ लाख १० हजार लगानीमा खिदिमाको मखमलेमा व्यावसायिक रेन्बो ट्राउट पालन शुरु गरिएको जनाइएको छ । रेन्बो ट्राउट पालनका लागि १९ वटा ९रेस–वे० पोखरी र फिल्टर ट्याङ्की निर्माण गरेर पहिलो चरणमा १० हजार भुरा हालिएको लगानीकर्ता निशन राईले बताए ।
आन्तरिक तथा बाह्य पर्यटकको अध्ययन तथा भ्रमण गर्ने थलोका रूपमा विकास गर्दै कृषि पर्यटनको विकासका लागि रेन्बो ट्राउट पालन शुरु गरिएको कृषक समूहले जनाएको छ । रेन्बो ट्राउट पालन गर्न इच्छुक स्थानीय किसानलाई सोसँग सम्बन्धित तालिम तथा दाना पनि उपलब्ध गराइने कृषक समूहले जनाएको छ ।
नेपाल रेन्बो ट्राउट फिस फर्म ललितपुरबाट रेम्बो ट्राउटका १० हजार भुरा ल्याएर पोखरीमा हालिएको गाउँपालिकाका कृषि शाखा संयोजक गणेश राईले बताए । आगामी दिनमा रेन्बो ट्राउटको स्रोत केन्द्र बनाउने उद्देश्य राखिएको उक्त ठाउँमा स्थानीयवासी डिलबहादुर राईको जग्गा खरिदसमेत गरिएको छ ।
रेन्बो ट्राउट पालनका लागि स्थानीयवासी रामकृष्ण राईको संयोजकत्वमा सात सदस्यीय सञ्चालक समिति बनेको छ । सोही समितिको समन्वयमा गाउँका अन्य स्थानीय बासिन्दाले रेन्बो ट्राउट पालनमा शेयर लगानी गरेका छन् ।
नगद लगानी गर्न नसक्ने किसानले श्रम गरेर शेयर लगानी कायम गरेका छन् । आगामी दिनमा होमस्टे (घरबास) समेत सञ्चालन गर्ने लक्ष्यसहित स्थापना गरिएको रेन्बो ट्राउट फार्मका लागि आवश्यक रकम स्थानीय तथा प्रदेश सरकारले समेत लगानी गरेपछि कृषकहरु उत्साहित भएका छन् ।
पर्यटकीयस्थल तावा भञ्ज्याङ नजिकै रहेकाले रेन्बो ट्राउट फार्ममार्फत कृषि पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने साकेला गाउँपालिका अध्यक्ष अर्जुनकुमार खड्का ‘झङ्कार’ले बताउनुभयो । “गाउँपालिकाले कृषि पर्यटनलाई जोड दिएको छ”, उनले भने, “तावा भञ्ज्याङ आफैँमा पर्यटकीयस्थल भएकाले रेन्बो ट्राउट फार्म सञ्चालन भएपछि थप प्रर्यटन प्रवद्र्धन हुने अपेक्षा गरिएको छ ।”
प्राकृतिकरूपमै पर्यटकीयस्थल रहेको तावा भञ्ज्याङमा प्रदेश सरकार र गाउँपालिकाको आर्थिक लगानीमा कृत्रिम ताल निर्माणका लागि प्रारम्भिक अध्ययन गरिएको छ । प्रदेश नं १ कै सबैभन्दा ठूलो कृत्रिम ताल निर्माणका लागि आवश्यक आर्थिक तथा प्राविधिक सहयोग प्रदेश सरकारले व्यहोर्ने जनाइएको छ ।
साढे ६०० मिटर लम्बाइ र ५०० चौडाइ रहनेगरी निर्माण गर्न लागिएको तालको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) समेत तयार गरिएको छ । तीन वर्षभित्र निर्माण सम्पन्न गरिने तालका लागि आगामी आर्थिक वर्षको कार्यक्रम तथा बजेट प्रक्रियामा लैजाने योजना बनाइएको गाउँपालिका प्रमुख खड्काले जानकारी दिए ।
ताल निर्माणपछि तावा भञ्ज्याङमा आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन हुने गाउँपालिकाको अपेक्षा छ । समुद्री सतहदेखि दुई हजार २०० मिटर उचाइमा रहेको पर्यटकीयस्थल तावा भञ्ज्याङ प्राकृतिक सौन्दर्य तथा विभिन्न वन्यजन्तु अवलोकन गर्न समेत सकिने ठाउँमा पर्दछ । ताल निर्माणपछि टेम्के, मैँयूलगायत प्राकृतिक सुन्दरताको अवलोकन गर्न यसले मद्दत गर्ने गाउँपालिका प्रमुख खड्काले बताउनुभयो । तावा भञ्ज्याङभन्दा माथिल्लो भेगमा रहेको मुहान थुनेर निर्माण गरिने ताललाई नेपाल सरकारले निर्धारण गरेको १०० गन्तव्य सूचीमा पर्ने मुन्धुम ट्रेलसँगसमेत जोड्ने योजना बनाइएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस