• जीवनशैली | Jiwanshaili
  • राना थारूको होली शुरु


    कञ्चनपुर र कैलालीमा मात्रै बसोबास रहेको राना थारू समुदायले पनि सोमबारदेखि विधिवत् रुपमा परम्परागत होली खेल्न शुरु गरेका छन् । कुनै समय एक महिनासम्म आफ्नो पहिरन र आफ्नै भाषामा विभिन्न गीतहरु गाएर समूहमा खेल्ने राना थारूले होलीमा पछिल्लो समय डिजेलगायत म्युजिकको पनि साथ लिने गरेका छन् । भीमदत्त नगरपालिका–१९ बागफाँटाका साहेब रानाले होली पर्वका अवसरमा आफ्नै समुदायको हरेक घरबाट गुइँठा र तोरीको सुकेको डाँठ चोरेर गाउँभन्दा खुला क्षेत्रमा थुपार्ने प्रचलन कायम रहेको बताए ।

    ‘चोरेको गुइँठा र तोरीको डाँठ थुपारेर होलीका बनाई चीर दहन गर्ने चलन पनि छ’, रानाले भने, ‘होलीको अन्तिम दिन भुसेन (देवताको मन्दिर)मा चराई गरेर विसर्जन गरेपछि विधिवत् रुपले होली सकिन्छ ।’

    जीवन शैली परिवर्तन भएसँगै समुदायको मौलिक पर्व लोप हुने चिन्ता रहेको स्थानीयवासी राना थारू अगुवाहरुमा चिन्ता छ । विभिन्न राना थारू समिति, युवा क्लबहरुले यतिबेला यहाँका थारू बस्तीहरुमा होली आयोजना गरी कलासंस्कृति र परम्पराको संरक्षणमा जोड दिइरहेका राना थारू घरबास (होमस्टे)का सचिव चेतराम रानाको भनाइ छ ।

    होली पर्वमा वर्षदिनभरिको दुःख बिर्सेर रमाउने, आफन्तसँग भेटघाट गर्ने र मीठो मिष्टान्न खाने गरेको उनको जानकारी दिए । युवायुवतीले रातिको समयमा होरी नाचगान गरेर पर्व मान्ने प्रचलनलाई थारू समुदायमा जिउँदो होलीको सङ्ज्ञा दिइन्छ । राना थारू समुदायले एक साताभन्दा बढी समयसम्म होली मनाउने गरेका छन् ।


    क्याटेगोरी : चाडपर्व विशेष, समाचार

    प्रतिक्रिया दिनुहोस