फोहर व्यवस्थापनमा सहयोग गरिदिन स्थानीयवासीसँग कामपाको अनुरोध
फोेहर व्यवस्थापन कार्यमा सहयोग गरिदिन प्रभावित क्षेत्र सिसडोलका बासिन्दासँग काठमाडौँ महानगरपालिकाले अनुरोध गरेको छ ।
कामपा वातावरण व्यवस्थापन विभागले ल्याण्डफिल साइट प्रभावितले समय–समयमा फोहर व्यवस्थापन कार्यमा अवरुद्ध गरेपछि विज्ञप्तिमार्फत यस किसिमको अनुरोध गरेको हो । स्थानीयवासीले पछिल्लोपटक यही चैत १३ गतेदेखि फोहर व्यवस्थापन कार्य प्रभावित पारेका छन् ।
विभागले सोमबार एक विज्ञप्ति जारी गर्दै प्रभावित क्षेत्रका स्थानीयवासीसँग फोहर व्यवस्थापनका लागि सहयोग गर्न अनुरोध गरेको हो ।
विभागका प्रमुख हरिकुमार श्रेष्ठले विज्ञप्तिमार्फत भनेका छन्, “स्थानीय बासिन्दाको माग सम्बन्धमा कामपा, नेपाल सरकार, शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयसँग समन्वय गरी छलफल अघि बढाइसकेकाले माग पूरा हुने सकारात्मक अपेक्षा छ ।”
अहिले साइटमा फोहर लैजानसक्ने अवस्था नरहेकाले घर, पसल, उद्योग, कलकारखाना, व्यवसाय तथा कार्यालयका उत्पादकलाई स्रोतमै फोहर वर्गीकरण गर्न विभागले अनुरोध गरेको छ । नकुहिनेलाई घरमै व्यवस्थापन गर्न र कुहिने फोहरलाई सङ्कलन गर्ने गाडी आएपछि पठाउन आग्रह कामपाले गरेको छ ।
फोहरमैला प्रभावित क्षेत्र शिक्षक व्यवस्थापन सङ्घर्ष समितिले प्रभावित क्षेत्रका विद्यालयमा शिक्षक दरबन्दी प्रदान गर्ने, माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क गर्ने माग राखेर फोहर लैजान अवरोध गरेको छ । काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहर विगत १३ वर्षदेखि नुवाकोटको सिसडोलस्थित ल्याण्डफिल साइटमा विसर्जन गरिँदै आएको छ । शुरुमा दुई वर्षका लागि भने पनि १३ वर्षसम्म निरन्तर फोेहर व्यवस्थापन गर्दा विभिन्न किसिमको समस्या आएको भन्दैै स्थानीयवासीले अन्यत्र विकल्प खोज्नका लागि अवरोध गर्दै आएका छन् । उपत्यकाबाट दैनिक एक हजार २०० मेट्रिक टन फोहर सिसडोलमा व्यवस्थापन हँुदै आएको छ ।
सबैभन्दा बढी कामपाबाट ५०० मेट्रिक टन फोहर लगिने गरिएको छ । हरेक दिन उपत्यकाबाट निजी र कामपाको गरी २०० गाडी फोहर लगिने गरिएको छ । दीर्घकालीन ल्याण्डफिल निर्माणका लागि सिसडोलभन्दा दुई किलोमिटर पर बन्चरेडाँडामा एक हजार ७०० रोपनी जग्गा अधिग्रहण गरिसकेको भए पनि निर्माणको काम सम्पन्न भएको छैन । सिसडोलवासीलाई वार्ताका माध्यमबाट समस्या समाधान गर्न आग्रह गरिरहेको र यसलाई सकारात्मक रूपमा लिएर सहयोग हुने अपेक्षा कामपाको छ । यदि निरन्तर अवरोध भयो भने फोहर विसर्जन कार्यका लागि थप कदम चाल्ने कामपाको भनाइ छ
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस