• जीवनशैली | Jiwanshaili
  • नेपालीलाई आईफोन मर्मतको तालिम दिँदै एप्पल, तपाई पनि सहभागी बन्नुहोस्


    एप्पलले विश्वव्यापी रुपमा आईफोन, आईप्याड लगायतका आफ्ना डिभाइसहरुको मर्मतका लागि तालिम प्रदान गर्ने भएको छ । कम्पनीले इन्डिपेन्डेन्ट रिपेयर प्रोभाइडरका रुपमा यो कार्यक्रम अघि बढाएको हो । जसमार्फत कम्पनीले आफ्नो डिभाइस मर्मतका लागि आधिकारिक तालिम प्रदान गर्नेछ । यो कार्यक्रम सन् २०१९ मै सुरु भएपनि विश्वव्यापी रुपमा विस्तार भने भएको थिएन ।

    अमेरिकाबाट क्यानडा र युरोपमा हुदैँ अब भने कम्पनीले यो कार्यक्रम विश्वव्यापी रुपमै अघि बढाउने भएको छ । आफ्नो डिभाइसमा वारेन्टी सकिएपछिको मर्मतका लागि प्रयोगकर्तालाई सहजता होस् भन्ने हेतुका साथ यो कार्यक्रम गर्न लागिएको कम्पनिले जनाएको छ । वारेन्टी भएका प्रयोगकर्ताको हकमा एप्पलको आधिकारिक मर्मत केन्द्रबाटै मर्मत हुने गर्दछ ।

    यो तालिम नेपालसहितका २ सयभन्दा बढी देशमा खुला गरिएको छ भने यसरी तालिम दिएपश्चात एप्पल प्रयोकगर्ताले उक्त पसल तथा संस्थामा गएर आफ्ना डिभाइसहरु मर्मत गराउन सक्ने कम्पनीले जनाएको छ ।

    तालिममा सहभागी हुन कुनै शुल्क बुझाउन नपर्ने कम्पनिले जनाएको छ । तर, तालिमपछि एप्पलका सम्पूर्ण डिभाइसको मर्मत गर्न सक्नुपर्ने हुन्छ । साथै एप्पलका आधिकारिक मर्मत केन्द्रबाहेक अन्यले यो तालिममा भाग लिन एप्पलस्तरको मर्मत दक्षता हासिल गरेको हुनुपर्ने उल्लेख गरिएको छ ।

    यसमा सहभागी हुन कम्पनी आवश्यक हुनेछ भने व्यक्तिगत रुपमा यो कार्यक्रममा सहभागी हुन सकिने छैन । इच्छुकले अनलाइनबाटै यसमा सहभागी जनाई यो तालिमको भाग लिन सक्नुहुनेछ भने प्रमाणपत्र पनि निःशुल्क रुपमा उपलब्ध हुनेछ ।
    यो कार्यक्रममा एप्पलका आधिकारिक रिसेलरले सहभागीता जनाउन पाउने छैनन् ।

    तालिममा सहभागी हुनका लागि तपाईंले ईमेलमार्फत कम्पनीलाई आफ्नो जानकारी पठाउनुपर्ने हुन्छ । तपाईंले पठाएको जानकारीको आधारमा कम्पनीले उक्त कार्यक्रममा सहभागी हुन मिल्नेछ भने थप प्रक्रिया अघि बढाउने छ ।

     


    क्याटेगोरी : प्रविधी शैली, समाचार

    प्रतिक्रिया दिनुहोस