आजदेखि बालाजु क्षेत्रमा मेलम्चीको पानी वितरण शुरु
काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले बालाजु पोखरीमा मेलम्चीको पानी हालेर त्यस क्षेत्रमा पानी वितरण शुरु गरेको छ । बालाजु पोखरीमा बिहीबारदेखि पानी पठाउन थालिएकामा आज बिहान ५ बजेदेखि वितरण थालिएको लिमिटेडले जनाएको छ ।
आजदेखि नयाँबजार, सोह्रखुट्टेलगायतका स्थानमा पनि मेलम्चीको पानी वितरण हुने लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताउनुभयो । अब उपत्यकामा रहेका पोखरीमध्ये बाँसबारीस्थित पोखरीमा मात्रै पानी पठाउन बाँकी छ । उहाँले भन्नुभयो, “केही समयभित्रै त्यहाँ पनि पठाउन सकिनेछ ।”
लिमिटेडले पानी वितरण गर्ने क्षेत्र बढाइरहेको छ । पहिलो चरणमा दैनिक चार करोड लिटर ल्याइएकामा अहिले दैनिक साढे आठ करोड लिटर आइरहेको शाक्यले बताए। उनका अनुसार महाराजगञ्ज पोखरीमा बिहीबारदेखि नै पानी पठाउन थालिएको छ ।
यही चैत १५ गतेदेखि उपत्यकामा मेलम्चीको पानी वितरण शुरु गरिएको हो । पहिलो चरणमा पुरानो महाङ्काल, मीनभवन, अनामनगर र खुमलटार क्षेत्रमा पानी वितरण शुरु गरिएको थियो । एउटा प्रशोधन केन्द्र मात्रै परीक्षण भएकाले त्यसको क्षमताअनुसार पहिलो चरणमा साढे आठ करोड लिटरसम्म पानी आउनेछ । अर्को प्रशोधन केन्द्रको परीक्षण गरेपछि थप साढे आठ करोड लिटर पनि ल्याउन सकिने उनले बताए । दुवै प्रशोधन केन्द्रमा दैनिक साढे आठ÷साढे आठ करोड लिटर गरेर क्षमताअनुसार दैनिक १७ करोड लिटर पानी उपत्यकामा वितरण गर्न सकिनेछ ।
मेलम्ची खानेपानी आयोजनाले गत महिना पानी परीक्षणका लागि सुरुङमा पठाएको थियो । त्यसको दुई साता पछि पानी सुन्दरीजलसम्म आइपुगेको थियो । पछिल्लो समयमा चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले आयोजनाको बाँकी काम सम्पन्न गरेको हो । राष्ट्रिय गौरवको आयोजना निर्माण सम्पन्न भएर काठमाडौँ उपत्यकामा पानी वितरण थालिएसँगै उपत्यकावासीले दैनिक पानी पाउन थालेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस