कर्णाली कोरिडोरको निर्माण तीव्र
राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतको कर्णाली कोरिडोर निर्माण तीव्ररूपमा भइरहेको छ । केही महिनादेखि ब्लाष्टिङ सामग्रीको अभाव भएका कारण सडक निर्माणको ट्र्याक खोल्ने कार्य प्रभावित भएको थियो । चैतको पहिलो हप्ता नेपाली सेनाको सहयोगमा ब्लाष्टिङ सामग्री सिमिकोट ल्याइसकेपछि धेरै महिनादेखि रोकिएको निर्माण कार्य शुरु भएको सिमिकोट–हिल्सा सडक योजनाका प्रमुख विसुन दास लामाले बताए ।
सिमिकोट–हिल्सा सडक खण्डमा च्याछरा चट्टाने भिर तथा सडकमा रहेका विभिन्न चेनेजमा कडा चट्टानहरु फुटाउने कार्य तीव्र गतिमा भइरहेको छ । दुई महिनाभित्र यस खण्डको ‘ब्रेक थ्रु’ भई सिमिकोटदेखि चीनको नाका हिल्सासम्म ९५ किलोमिटर सडक मार्गबाट सजिलै यात्रा गर्न सकिनेछ । त्यसैगरी सिमिकोट सल्लिसल्ला खण्डमा रहेको सल्लिसल्लाको भिर ब्रेकर करिब एक महिना लगाएर फुटाइसकेको हुँदा हुम्लाको चङ्खेली गाउँपालिका हुँदै १२ किलोमिटर ट्र्याक सडक सर्केगाड गाउँपालिकाको दुल्लीकुनासम्मा खुलिसकेको र ट्र्याक्टरसमेत पुगिसकेको अवस्था रहेको सपना धुलिखेल जेभी काठमाडौँका आधिकारिक प्रतिनिधिले जानकारी दिए । अब दुल्लीकुनाको भीर फुटाउन कम्प्रेसर, जेनेरेटरलगायतका उपकरण सुर्खेतबाट ल्याउने तयारी भइरहेको र भिर फुटाउने कामसमेत चाँडै शुरु हुने उहाँले जानकारी दिए ।
खार्पुनाथ गाउँपालिकामा रहेको बोक्चेगौँडामा ४०० मिटरको भिरबाट अब एक्साभेटर मेसिन छिर्न सक्ने पि एस दि क्याराभान कङ्ग्री जेभीका स्थानीय प्रतिनिधि क्याछोक लामाले बताए । योजना कार्यालय सिमिकोटबाट प्राप्त जानकारीअनुसार अब ट्र्याक खोल्न करिब १५ किलोमिटर मात्र बाँकी छ । विशेषगरी असाध्यै अप्ठ्यारो छारे भिर करिब एक किलोमिटर रहेकामा उक्त भिरको एलाइन्मेन्ट छलेर दुईवटा बेलिब्रिज पुल जडान गर्न सके र निर्माण व्यवसायीले निर्माण कार्यमा तदारुकता देखाए हुम्ला जिल्लाको सदरमुकाम जोड्ने कार्य अबको एक वर्षभित्र सकिने देखिन्छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस