वायु प्रदूषणका कारण आँखाका बिरामी बढ्दै
दुई हप्तादेखि मकवानपुरको हेटौँडा आसपास क्षेत्रमा लागेको डढेलो र वायु प्रदूषणका कारणले जिल्लामा आँखाका बिरामीको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ । वायु प्रदूषणको जोखिम बढेपछि हेटाैँडाको सामुदायिक आँखा अस्पतालमा आँखाको उपचार गराउनेको सङ्ख्यामा व्यापकरुपमा वृद्धि भएको सो अस्पताल प्रशासनले जनाएको छ । विगत दुई हप्तादेखि वायु प्रदूषणका कारणले आँखा उपचार गराउनेको सङ्ख्यामा वृद्धि भएको अस्पतालका वरिष्ठ प्रशासक सुधीर श्रेष्ठले बताए ।
अहिले वायु प्रदूषणलगायत र अन्य विभिन्न कारणले दैनिक ३५० भन्दा बढी आँखाका बिरामी अस्पतालमा उपचार गराउन आउने गरेको बताइएको छ । अस्पतालमा आँखाको उपचार गराउन आउने अधिकांश बिरामीको आँखा पोल्ने, आँखा रातो हुने र आँखामा एलर्जी हुनेलगायत टाउको दुख्ने समस्या रहेको बताइएको छ । अस्पतालमा नियमित आँखा जाँच गराउन आउने र फलोअपका लागि आउने तथा आँखाको शल्यक्रिया गराउन आउनेको सङ्ख्या पनि उल्लेख्य मात्रामा रहेकाले सेवाग्राहीको अत्यधिक चाप बढेको प्रशासक श्रेष्ठले बताए ।
अस्पतालमा हप्तामा पाँच दिन आँखाको शल्यक्रिया हुने गरेको छ । विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारीका कारण दैनिक २०० आँखाका बिरामीको उपचार गर्दै आएको सो अस्पतालले बिरामीको चाप बढेपछि बिहान ७ बजेदेखि ११ बजेसम्म तोक्न दिने गरेको र त्यही समयदेखि उपचार शुरु हुने गरेको बताइएको छ ।
आँखाको सामान्य जाँचपश्चात् १५० भन्दा बढीले चश्मा बनाएर जाने गरेको श्रेष्ठले जानकारी दिनुभयो । आँखा अस्पतालमा आउने सम्पूर्ण सेवाग्राहीमध्ये ५० प्रतिशत स्वास्थ्य बीमाका सदस्य रहेको बताइएको छ । बीमाबाट चश्मा बनाउन एक आर्थिक वर्षमा एकपटकका लागि रु एक हजार उपलब्ध हुने गरेको छ ।
त्यसैगरी आँखाको निजी क्लिनिकमा उपचार गराउने तथा चश्मा पसलमा पनि चश्मा बनाउनेको सङ्ख्यामा वृद्धि भएको बताइएको छ । वायु प्रदूषण र धुवाँधुला कारण हेटौँडा अस्पतालमा रुघाखोकी र नाक, कान र घाँटी तथा एलर्जीका बिरामीको उपचार गराउनेको सङ्ख्या बढेको सो अस्पतालले जनाएको छ । निजी क्लिनिक र नर्सिङ होममा पनि वायु प्रदूषणबाट प्रभावित बिरामी उपचार गराउने बढेको पाइएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस