• जीवनशैली | Jiwanshaili
  • नाकाबाट स्वदेश फर्किनेमा कोरोना सङ्क्रमण फैलिने क्रम बढ्दो


    कञ्चनपुरको पूर्वी गौरीफन्टा नाकाबाट स्वदेश फर्किनेमा कोरोना सङ्क्रमण फैलिने क्रम बढी देखिएको छ । एक सातामा यहाँको नाकाबाट भारतको विभिन्न शहरबाट पर्व मनाउन घर फर्किरहेका तीन सय जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

    आइतबार मात्रै ३३४ जनाको परीक्षण गर्दा ३० जनाको कोरोना सङ्क्रमण देखिएको पुर्नवास स्वास्थ्य एकाइका अहेब गणेश साउदले जानकारी दिए । ‘यहाँ जनशक्ति अभाव र अन्य व्यवस्थापनले भारतबाट आउने सबैको कोरोना परीक्षण सम्भव देखिएको छैन ।’ डोकेबजारमा स्वास्थ्य परीक्षणमा खटिएका साउदले भने, ‘ सङ्क्रमण समुदायस्तरमै फैलिएको हामीले अनुमान गरेका छौँ ।’

    उनले कोरोना सङ्क्रमित देखिएकालाई धनगढी आइसोलेशनमा पठाइरहेको बताए । ‘परीक्षण गरिएकामध्ये दश प्रतिशतमा कोरोना सङ्क्रमण पुष्टि भइरहेको छ’ उनले भने, ‘दैनिक पाँच-छ सय नागरिकको सीमामा परीक्षण सक्न सहज छैन ।’

    उनले भारतबाट आउनेहरु सीमामा लुकिछिपी आउनुका साथै कोरोना परीक्षण बिनै गाउँ पसिरहेकाले आम नागरिकले सर्तकता अपनाउनुपर्ने अवस्था पुनः आएको बताए । हाल भारतमा बढी सङ्क्रमण देखिएको ठाउँबाट घर फर्किरहेका र कोरोनाको लक्षण देखिएका नागरिकको सीमामा कोरोना परीक्षणमा ध्यान दिइएको छ ।


    क्याटेगोरी : कोरोना अपडेट, समाचार

    प्रतिक्रिया दिनुहोस