दाउन्ने बस दुर्घटना: घाइते भएका तीनको मृत्यु
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरस्थित दाउन्नेमा शनिबार साँझ भएको बस दुर्घटनामा परी घाइते भएकामध्ये तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकामध्ये दुई महिला र एक पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा परी घाइते भएका ३१ मध्ये तीन जनाको राति उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए । दुर्घटनामा परी मृत्यु हुनेमा इलाम बस्ने २५ वर्षीया धनु दर्लामी, मकवानपुर बकाया गाउँपालिका–५ घर भई हाल विनयी त्रिवेणी गाउँपालिका–२ स्थित गुम्बामा बस्ने ५७ वर्षीया ज्यामो हिसे छमो ग्याल्मो र चितवन भरतपुर महानगरपालिका–२५ बस्ने ७२ वर्षीय हिमलाल न्यौपाने रहेका छन् ।
अन्य घाइतेको भने भरतपुर तथा नवलपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रनाउक गिरीले बताए । शनिबार साँझ नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा बुटवलबाट नारायणगढका लागि छुटेको ना५ख ७००० नम्बरको यात्रुबाहक बस आफैँ अनियन्त्रित भई सडकबाट दुई मिटर तल खसेको थियो । बस दुर्घटनामा परी बसमा सवार सबै घाइते भएका थिए । सडकबाट तल भिरमा बस खसेकाले घाइतेको उद्धारमा समेत कठिनाइ भएको थियो । जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय दुम्किबासको प्रहरी टोलीले घाइतेको उद्धार गरेको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस