• जीवनशैली | Jiwanshaili
  • रथ बनाएर नथाकेका पूर्णमान


    वैशाखको मध्यदिन । दरबारमार्गस्थित राजा महेन्द्रको शालिकअगाडि सेतो मछिन्द्रनाथको रथ बनाउन व्यस्त थिए पूर्णमान महर्जन । उमेरले ६८ पुगिसकेका महर्जनले रथ बनाउने काम थालेको नै चार दशक भइसक्यो । तर, रथ बनाउने उनको जोश रत्तिभर घटेको छैन ।

    २०३८ सालदेखि निरन्तर रथ बनाउने काममा सक्रिय भएका पूर्णमान आफ्नो गोडामा समस्या हुँदाहुँदै पनि कर्मबाट विचलित भएका छैनन् । बरु युवाहरुसँगै रथ बनाउन लागिपरेका छन् ।

    किशोरावस्था पुगेपछि जात्रामा रमाइलो गर्ने, रथ तान्ने काम गर्न थाले । तर, २०३७ सालमा बाबुको निधन भएसँगै रथ बनाउने जिम्मेवारी उनको काँधमा आइपुग्यो ।

    बाल्यकालमा पूर्णमानले आफ्ना बाबु–बाजेले रथ बनाएको देखेका थिए । काठ, पांग्रा, बाँस र झाँकीहरू जोडेर घरजस्तै अग्लो गुड्ने रथ बनाएको घण्टौंसम्म हेरिरहन्थे उनी । किशोरावस्था पुगेपछि जात्रामा रमाइलो गर्ने, रथ तान्ने काम गर्न थाले । तर, २०३७ सालमा बाबुको निधन भएसँगै रथ बनाउने जिम्मेवारी उनको काँधमा आइपुग्यो ।

    आज गोडामा समस्या भएपनि संस्कृति र भगवानप्रतिको आस्थाका कारण उनी रथ बनाउन कार्यक्षेत्रमा खटिरहेका छन् ।

    ‘हामीले त जस्तो परिस्थितिमा पनि जात्रा रोकेनौं तर छोरा नातिले यस कार्यलाई निरन्तरता देलान कि नदेलान्’ पूर्णमान भनिरेहका थिए, ‘जुनसुकै पेसामा लागेपनि वर्षको १०, १५ दिन समय छुट्याएर परम्परा जोगाउनु पर्छ ।’

    नयाँ पुस्ताले जात्रा, चाडपर्वप्रति चासो कम देखाएको बताइरहेका थिए उनी ।

    यसो त चालिसौ वर्षसम्म रथ बनाइरहँदा धेरै दुखसुख भोगेका छन् उनले । २०४५-४६ सालतिर रथ बनाउँदै गर्दा पुलिस र युवाहरुबिच ढुंगा हानाहान भयो । त्यतिबेला पूर्णमान र साथीहरू रथको काम छोडेर लुक्नु नै परेको थियो । यस्तै ६४ सालमा रथ तान्न सुरु गरेको केहि समयपछि रथ पल्टिएर गुडिरहेको बसमाथि अड्कियो । चारजना घाइते भए ।

    अहिले रथ बनाउँदा १५–२० वर्ष पुरानोको चक्का प्रयोग भइहेको उनी सुनाउँछन् । भन्छन्, ‘पुरानो भएपनि चक्का अझै बलियो छ । तर, पहिला रथ बनाउँदा फलामसम्म ठोक्नु हुँदैन थियो । बिस्तारै किला ठोक्न थालेपछि चोकुनले रथका पार्टपुर्जा बिगार्न थाल्यो ।’

    पूर्णमानका अनुसार रथलाई बलियो बनाउन बेतलाई भिजाएर बाँध्ने गरिन्छ । अहिले पनि यो परम्परा कायमै छ ।

    जात्राको दिन झकिझकाउ देखिने रथ देख्दा जति सुन्दर हुन्छ, बनाउन उत्ति नै गाह्रो छ । ‘रथ माथि चडेर डोरि तानेर कसिलो बनाउनु पर्छ जसले गर्दा हात दुख्ने, गल्ने हुन्छ ।

    रथ निर्माणमा सक्रिय भएवापत पहिले गुठिबाट १ माना धान, १ माना चामल र २५ पैसा पाउँथे उनले । समय फेरिएसगैँ महंगी पनि बढ्दै गयो । अहिले चित्रकारसहित २८ जना रथ बनाउनेलाई खाना, खाजा खान पुग्ने रकम भने पाइरहेका छन् । तर पैसाको लागि भन्दा पनि आस्थाको लागि सक्रिय भएको उनी सुनाउँछन् । सरकारको आस गर्नुभन्दा आफ्नो परम्परा जोगाउन आफैं लागिपरे उन्नति हुने पूर्णमान बताउँछन् ।

    जात्राको दिन झकिझकाउ देखिने रथ देख्दा जति सुन्दर हुन्छ, बनाउन उत्ति नै गाह्रो छ । ‘रथ माथि चडेर डोरि तानेर कसिलो बनाउनु पर्छ जसले गर्दा हात दुख्ने, गल्ने हुन्छ । काठपात मिलाउनुपर्छ’, उनले भने, ‘तर समूहले मेहनत गर्दा ७–८ दिनमा सेतो मछेन्द्रनाथको रथ तयार हुन्छ ।’

    कोरोनाको कारणले विगतका वर्षमा जात्रा प्रभावित भएपनि यो वर्ष हर्षउल्लासका साथ जात्रा मनाउन पूर्णमान लागिपरेका छन् । तर फेरि कोरोनाको प्रभाव बढिरहँदा जात्रा के हुने हो अनिश्चितता थपिएको छ ।

    यस्तो छ सेतो मछेन्द्रनाथको इतिहास

    परापुर्व कालमा जमलमा खेत थियो । एक जना किसानले खेत खन्ने क्रममा सेतो मछिन्द्रनाथको मुर्ती भेटेका थिए । उक्त मूर्तिलाई किसानले आफ्नो भकारिमा लुकाएर राखे। त्यस भकारीबाट जति धान झिक्दा पनि नसकिएपछि मुर्तिलाइ अन्नदाता मानी जनबहालमा स्थापना गरिएको किम्बद्न्ती छ । सोही परम्पराअनुसार अहिले पनि उक्त मुर्ति भेटिएको ठाउँमा रथ बनाउने चलन रहेको छ ।

    सेतो मच्छिन्द्रनाथको यात्रामा रथ तान्नुअघि गुरुजूको पल्टनले तोप पड्काई बाजा बजाई रथ तान्ने गरिन्छ । सेतो मच्छिन्द्रनाथको रथयात्रा हरेक वर्ष चैत्र शुक्ल अष्टमी देखि सुरु गरिन्छ । यो दिन सेतो मच्छिन्द्रनाथको उत्पत्ति भएको स्थान जमल तीनधारा पाठशाला अगाडिबाट बाजा बजाउँदै जात्रा गर्दै ल्याइन्छ । नौ तले शिखर शैलीको रथमा केलटोलको कनक चैत्य महाविहारबाट मच्छिन्द्रनाथको मूर्ति खटमा राखी लैजाने चलन रहेको उनले बताए ।

    जात्राको पहिलो दिन रथलाई रत्नपार्क भोटाहिटी हुँदै असनमा अन्नपूर्ण अजिमाको मन्दिर अगाडि पुर्याइ उक्त दिनको जात्रा सकाइन्छ । भोलिपल्ट रथलाई असन, इन्द्रचोक, मखन हुँदै हनुमानढोका दरबार अगाडिको कालभैरव स्थान अगाडि पुर्याइन्छ । त्यसको भोलिपल्ट मरु, चिकंमुगल, जैशीदेवल हुँदै लगनमा पुर्याइन्छ । मच्छिन्द्रनाथको रथ लगन पुर्याउने बित्तिकै जात्रा देखाउन कुमारी घरबाट जीवितदेवीका रुपमा मान्दै आएका कुमारीलाई विमान खटमा राखी बाजा बजाउँदै लगन चोकमा ल्याई जात्रा देखाउने चलन छ । त्यहाँ रहेका मच्छिन्द्रनाथकी आमा भनिने सेतो अवलोकितेश्वरको मन्दिर र त्यही रहेको माँसीमा रुखमा तीन पटक रथ परिक्रमा गराई जात्रा सकाउने गरिन्छ ।

    जमलदेखि लगनसम्म मच्छिन्द्रनाथको रथ तानेर जात्रा गर्दा अशक्त, रोगी र वृद्धवृद्धाहरुलाई स्वास्थ्य स्वस्थ पार्न र उद्धार गर्न करुणामय मच्छिन्द्रनाथले दर्शन दिने गरेको मानिन्छ ।


    क्याटेगोरी : चाडपर्व विशेष, समाचार, समाज

    प्रतिक्रिया दिनुहोस