‘टिकट त लिइसकेको छु, तर अहिलेसम्म गाडी आएको छैन । कतिवेला आउँछ भन्ने पनि टुंगो छैन, साह्रै दुःख पाइयो,’ कविताले भनिन् । उपत्यकामा निषेधाज्ञा घोषणा भएसँगै उनलाई काठमाडौंमै बसे अघिल्लो लकडाउनमा जस्तै दुःख पाइने डरले सताउन थाल्यो । त्यसैले कोठाका सबै सामानसहित घर फर्किन लागेको उनले बताइन् । बिहीबारदेखि उपत्यकामा निषेधाज्ञा लागू गर्ने घोषणा सरकारले तीन दिनअघि नै घोषणा गरिसकेको छ ।
काठमाडौंको गोंगबु बसपार्क, कलंकी, जडीबुटी, कोटेश्वर र भक्तपुर क्षेत्रमा अत्यधिक भिड छ । लामो दूरीका यात्रु नागढुंगामा दिनभरजसो जाममा परेका छन् । उपत्यकाबाहिरबाट खाली गाडी आउने र भरिएका गाडी बाहिर जाने क्रम बढेपछि त्यस क्षेत्रको आवागमन नै अस्तव्यस्त बनेको थियो ।
बिहार घर भई काठमाडौंमा बिजुलीको काम गर्ने आठजना भारतीय मजदुरको समूह विराटनगरका लागि गाडी कुरिरहेको थियो । उनीहरू ७ बजेदेखि नै कंलकीमा विराटनगर जाने गाडी कुरिरहेका थिए । तर, १२ बज्नै लाग्दासम्म गाडी नभेटिएपछि कलिम अहमदसहितको समूह सडकमै अलपत्र छ । ‘यहाँका मान्छेहरूले भोलिदेखि गाडी जाँदैन भन्छन्, अहिले जानलाई गाडी नै भेटिँदैन,’ कलिमले भने ।
राति विराटनगरको गाडी भेटिए जोगबनी नाका हुँदै भारत पस्ने योजना मजदुरहरूको छ । ‘जसलाई सोधे पनि अलि तल जाऊ गाडी पाइन्छ भन्छन्, पाँच घन्टा भइसक्यो, गाडी भेटिएको छैन,’ कलिमले भने । मध्यरातसम्म पनि उनीहरू गाडी पाइने आशामा सडकमै थिए ।
नयाँ पत्रिका





प्रतिक्रिया दिनुहोस