निषेधाज्ञा : निमुखालाई लुट्ने काइदा
निषेधाज्ञाको मौकाको फाइदा उठाउँदै काठमाडौंका होटेलहरूले यात्रु ठग्ने गरेको पाइएको छ । यस्तै ट्याक्सी र भाडाका गाडीले पनि मनपरी भाडादर असुलेको भेटिएको छ ।
अहिले विदेशबाट नेपाल आउने श्रमिकहरूलाई होटेल तथा राजधानीका सवारी साधनले ठग्ने गरेको पीडितहरू बताउँछन् । उपत्यकामा निषेधाज्ञाको तेस्रो दिन मलेसियाबाट नेपाल आएका राजेश सदासहित ६ जनाले यही नियति भोग्नु पर्यो । शुक्रवार बेलुका एयरपोर्ट अवतरण गरेसँगै एक होटेलवालाको गाडीले राजेश सहितको यो टोलीलाई धनुषा जाने गाडी नयाँ बसपार्कमा पाउने भन्दै जबरजस्ति चढाए ।
गाडीवालाले सबैतिर बन्द छ भनेपछि उनीहरूले विकल्प देखेनन् र गाडी चढेर नयाँ बसपार्कको ‘होटल न्यु सुप्रिम’सम्म आए । सुतेको एक सय रुपैयाँ र खानाको दुई सय भनेपछि उनीहरू सबै मक्ख पनि परे । तर जब बिहान भयो होटेलवालाले न त जनकपुर जाने गाडीको व्यवस्था गर्न नै सक्यो, न भनेजति पैसामा राजी भयो । उल्टै प्रतियात्रु सुतेको ८ सय र खानाको ४ सय गरी १२ सय लियो ।
‘एउटै रुममा सबै जना सुत्यौँ । सादा खाना मात्रै खाएको हो तर पनि हामीलाई जबरजस्ती ५ हजार तिर्न लगाइयो’, निराश हुँदै राजेशले जीवनशैलीलाई भने ।
यता जनकपुर जाने गाडी बसपार्कमा नपाउने कुरा थाहा हुँदाहुँदै पनि होटेलवालाले आफ्नो फाइदाको लागि प्रलोभनमा पारेका रहेछन्, ठगिएपछि पो थाहा भएको गुनासो गरे । ‘खै एक छाक खाएको यत्रो लुट्छन् भने कसरी बस्नु होटेलमा बरु धर्मशालामै बस्न पाए हुन्थ्यो’ उनले भने, ‘खुसीले दिन पाए त जति पनि दिन सकिन्थ्यो तर जानीजानी लुट्ने । यो कहाँको न्याय हो ?’
यतिमा मात्रै यो लुटको श्रृंखला रोकिएन । त्यसपछि फेरि नजिकका एक जना होटेलवाला आइपुगे र गौशालाबाट गाडी पाइन्छ म मिलाइदिन्छु भन्दै आफ्नो गाडीमा जाने प्रलोभनमा पारे ।
सडकमा करिब दुई घण्टा अलपत्र परेपछि प्रहरी हवलदारको टोली एक हुल प्रहरी आएर अलपत्र परेका माथि गाली गर्न थाले । तुरुन्त सडक खालि गर्न निर्देशन दिए ।
आफै नागरिकको सुरक्षामा सडकमा ड्युटी गरिरहेका हवलदारले भन्दै थिए, ,तपाईँहरू तुरुन्तै आफ्नो गन्तव्यमा जानुस्, । होटेलवालालाई झन् बल मिल्यो उनीहरू पनि आत्तिए र जति भन्यो उति तिरेर सोही गाडीबाट गौशाला पुराइयो।
‘दुई हजार तिरेर गौशाला पुग्यौँ । ७ किमी यात्रा गरेको २ हजार , फेरि लुटियो । भन्ने कसलाई ? प्रहरीलाई भन्दा सहयोग गर्नुको सट्टा उल्टै हप्की दप्की खेप्नु प¥यो’ राजेशले भने।
उक्त होटेलवालाको सेटिङमा फेरि गौशालाबाट धनुषा सम्म लैजाने भन्दै ‘बा ३ ख ५००९’ नंम्बरको गाडीले प्रतिव्यक्ति ३– ३ हजार लिएर गाडीमा बसायो । जब कि एक हजार भाडामा सधैँ आउने जाने गरेका उनीहरुलाई टिकट समेत दिइएन ।
स्वदेश फर्कंदा पनि लुटिनुपर्दा निकै दु:खी भएको उनीहरूले बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस