सडकमा साग बेच्दै ८० वर्षीय आमा
उमेरले त उनले जीवनका ८० वटा हिउँद–वर्खा काटिसकिन् । तर दुःखको नेटो काट्न पाएकी छैनन् ।
जीवन चलाउन आज पनि नित्य परिश्रम गरिरहेकी छिन् यो उमेरमा पनि । कपाल सेतै फुलेको छ, ढाड कुप्रिएको छ तैपनि ग्राहकलाई भनिरहेकी हुन्छिन्– बाबु एक भाग लगिदिनुसन् । २० रुपैयाँ त हो नि !
तर बाटोमा हिँड्ने वटुवाहरू सुने–नसुने झै आफ्नै सुरमा हिँडिरहेका थिए । कोहीले कति महंगो भन्दै थिए त कोहिले यस्तो निषेधाज्ञामा पनि किन बुढी आमा तरकारी बेच्न आउनु परेको भन्दै चिन्ता ब्यक्त गरे ।
यस्तैमा हामी पुग्नेबित्तिकै पनि आमाले एक भाग लिन अनुरोध गर्नुभयो । हामीले ‘हुन्छ आमा हामी लिन्छौं’ भन्दै कुरा गर्न थाल्यौं ।
यो दृश्य कालिमाटि चोककै नजिकैको सडकपेटीको हो । नजिकै प्रहरी चेकिङ छ । कोरोना भाइरस महामारी नियन्त्रण गर्न भन्दै सरकारले निषेधाज्ञा गरेकोले कालिमाटीमा तरकारी किन्नेको धेरै घुईचो छैन । सडकमा निश्चित समयमात्र बस्न पाइन्छ वा पास देखाएर हिँड्नमात्र पाइन्छ ।
यी बृद्ध आमा उमेरले ८१ बर्ष पुगेकी रहेछिन् । धादिङ छत्रै देउराली उनको घर रहेछ । बीस बर्ष अघिदेखि कालिमाटी चोकमा सानासाना भाग लगाएर तरकारी बेचेर उनले गुजारा गरिरहेकी छिन् । मुइया पाख्रिन उनको नाम हो ।
परिवारमा कोहि नभएकोले उनी एक्लै बस्दै आएकी छिन् । बिहान–बेलुका तरकारी बेचेर गुजारा गर्दै आएकी पाख्रिन बीस बर्ष देखि काठमाडौंमा एक्लै डेरा गरी बस्दी रहेछिन् । आजसम्म आफ्नो जीविका आफ्नै श्रमले टार्दै आएकी रहिछन् ।
आफन्तको नाममा गाउँमा एक जना भाइ र बुहारी छन् । ‘के गर्नु भाइ आफ्नो भए पनि बुहारी आफ्नो नहुँदो रहेछन् । भदा हरुले त माया गर्छन नी तर के गर्नु’, उनले आफ्नो बह पोखिन् ।
उनको यो भनाइले प्रष्ट बुझ्न सकिन्छ कि बुहारीले उनलाई हेला गर्दि रहेछिन् ।
उमेरमा बिहे गर्न पनि मन नलागेको कुरा उनले सुनाइन् । भन्छिन्, ‘मलाई अर्काको घर जानै मन लागेन । बिहे नै नभएपछि अरु परिवार त हुने कुरै भएन ।’
भाइ संगै बस्दै आएँ तर जव ६० बर्ष जति उमेर पुग्न लाग्यो त्यस पछि बुहारीको हेलाको कारण उनी गाउँबाट काठमाण्डौं आइन् । सुरुमा १०० रुपैँया भाडामा बसेकी उनको अहिले भने कोठा भाडा ३ हजार पुगिसकेको रहेछ । अहिले न त नागरिकता छ न त नेपाली हुनुको पहिचान ।
पहिचान विहिन भएकै कारण ११ बर्ष अघि देखि सरकारबाट पाउनु पर्ने वृद्ध भत्तासमेत पाउन बञ्चित भइरहेकी छिन् । यस बिषयमा आजसम्म थाहा नै रहेनछ उनलाई ।
‘यो उमेर सम्म त आफ्नै पाखुरीले खाएँ भने अव के को आशा’, संघर्षशील यी आमाले हामीलाई दृढ भएर जवाफ दिइन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस