• जीवनशैली | Jiwanshaili
  • कोरोना सङ्क्रमणबाट बच्न जीवनशैलीलाई प्राकृतिक बनाउनुपर्नेमा विज्ञको जोड


    काठमाडौं । कोरोना भाइरसजस्ता सङ्क्रमणबाट बच्न जीवनशैलीलाई प्राकृतिक बनाउनुपर्नेमा यस क्षेत्रका विज्ञले जोड दिएका छन् ।

    विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा नेपाल सांस्कृतिक पत्रकार समाजले आज भर्चुअल माध्यमबाट आयोजना गरेको ‘महामारीमा तनाव व्यवस्थापन, योग, ध्यान र आयुर्वेदबाट समाधान’ विषयक प्रवचन कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालय योग र प्राकृतिक चिकित्सा विषय समितिका अध्यक्ष डा.हरिप्रसाद पोखरेलले अप्राकृतिक जीवनशैलीकै कारण विश्वभर कोभिड–१९ जस्ता रोग बढेको बताए ।

    कोभिडको दोस्रो लहरपछि अरु पनि यस्तै रोग आउने भएकाले प्राकृतिक जीवनशैलीमै फर्किएर यसबाट समाधान निकाल्न सकिने उनको भनाइ थियो । नेपालीको भान्सा संस्कृति पहिलेदेखि वैज्ञानिक रहेकामा आधुनिकताका नाममा पछिल्लो समय केही संस्कार बिर्सन थालेकाले पनि मानिसमा रोग बढ्न थालेको छ । बेसार, अदुवा, आलस, सिलाम, तिल, जस्ता ९० देखि १०० औषधिजन्य बीज सूक्ष्म पोषक तत्वयुक्त चीजबीजलाई फेरि भान्सामा फर्काउनुपर्नेमा पोखरेलले जोड दिए ।

    चाउचाउ, चिजबल, बिस्कुटजस्ता ‘फास्ट फुड फास्ट डेथ’ का कारण बनेको पोखरेलले ठोकुवा गरे । रोग प्रतिरोधक क्षमता बढाउन अङ्कुरित गरिएका खाद्यपदार्थ खाने, दही, मोही, खाने भए बिहान खाने बेलुकी नखाने, पानी परेका दिन दही, मोही नखाने, बिहान, बेलुका मन तातो पानीले नुहाउने, बाहिर गई आएपछि कपडा बदल्ने जस्ता जीवनशैली अपनाउनुपर्ने प्राकृतिक चिकित्सक पोखरेलको सुझाव छ । कोरोना तीव्र गतिमा बढाउन चुरोट र रक्सी बढी माध्यम बनेकाले सङ्कल्प गरेर छाड्न पनि उनले सुझाव दिए ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस