• जीवनशैली | Jiwanshaili
  • मेचीको कोभिड अस्पतालमा छैन शय्या अभाव


    झापामा कोरोना सङ्क्रमित दिनहुँ बढिरहेका छन् । तर अधिकांश सङ्क्रमित होम आइसोलेशनमा बसेका कारण सरकारी कोभिड अस्पतालमा उपचारका लागि भर्ना हुने बिरामीको खासै चाप छैन ।

    भद्रपुरको मेची प्रादेशिक अस्पतालमा ७५ श्ययाको छुट्टै कोभिड उपचार केन्द्र सञ्चालन भइरहेको छ । जहाँ मङ्गलबारसम्म २२ जना कोरोना सङ्क्रमित उपचारका लागि भर्ना भएका छन् । भर्ना भएकामध्ये ११ जनालाई अक्सिजन सपोर्ट दिनुपरेको छ ।

    अस्पताल विकास समितिका अध्यक्ष सोमनाथ पोर्तेलले सङ्क्रमितको सङ्ख्या बढिरहेको आधारमा भविष्यमा केही भन्न नसकिए तापनि हाल उपचारका लागि श्ययाको कुनै अभाव नरहेको बताए ।

    मेची अस्पतालमा कोभिडको निःशुल्क उपचार भइरहेको र पिसिआर परीक्षण सुविधासमेत उपलब्ध रहेको छ । एक हजार जनाको दैनिक कोरोना भाइरस जाँच गर्ने क्षमता भएको पिसिआर प्रयोगशालामा हाल दिनहुँ २०० भन्दा कम मानिसले सुविधा लिइरहेका छन् ।

    अस्पतालमा अत्याधुनिक सुविधायुक्त एउटा भेन्टिलेटर, तीनवटा आइसीयु र २५ वटा एचडियु कक्ष रहेको अध्यक्ष पोर्तेलले जानकारी दिनुभयो । हाल ७५ श्ययाको छुट्टै कोभिड उपचार केन्द्रमा कोरोना सङ्क्रमितको उपचार भइरहेको जनाउँदै उहाँले आवश्यकताअनुसार २५ श्ययाको एचडियुसमेत कोभिडका बिरामीको उपचारमा लगाइने बताए ।

    अस्पतालको पुरानो भवनमा एचडियु, आइसियु र पिसिआर प्रयोगशाला राखिएको छ । नजीकै निर्माणाधीन भवनमा कोभिड उपचार केन्द्र सञ्चालित छ ।

    कोभिड उपचार केन्द्रमा अक्सिजन सपोर्ट र चिकित्सक तथा नर्सिङ सेवाको व्यवस्था रहेको छ । अस्पतालमा वैशाख महिनाभित्र सञ्चालनमा ल्याउने गरी प्रदेश नं १ सरकारको रु ७५ लाखको लगानीमा अक्सिजन प्लान्ट निर्माणाधीन छ ।

    अस्पतालका लेखा अधिकृत मनोज पोखरेलका अनुसार दैनिक ३५ वटा सिलिन्डर भर्न सक्ने क्षमताको आफ्नै अक्सिजन प्लान्ट बनाउन लागिएको हो । ठूला र साना गरी ४७ वटा अक्सिजन सिलिन्डर हाल अस्पतालमा रहेको र दैनिक २० देखि २५ वटासम्म खपत हुँँदै आएको छ ।

    दुई साता मेची अस्पतालको कोभिड उपचार केन्द्रमा बसेर स्वस्थ हुनुभएको पत्रकार दयाराम दाहालले सरकारी अस्पतालले कोभिडको उपचारमा चिकित्सक र नर्सको सहायता बढाउनुपर्ने सुझाव दिएका छन । “मैले त्यहीँ बसेर कोभिड निको भएँ”, पत्रकार दाहालले उपचार पाउँदाको अनुभव सुनाउँदै भने, “पौष्टिक खाना, खाजा र श्यया ठिकै थियो । तर भवन अपूरो छ, सरसफाइ राम्रो छैन । यसमा व्यवस्थापनको ध्यान जानुपर्छ ।”

    गत वर्ष कोभिड सङ्क्रमित भएपछि उपचारार्थ भर्ना हुनुभएका पत्रकार गणेशमान मुखियाले अक्सिजनको लेभल न्यून भएर अधिकांश कोरानाको बिरामी अस्पताल पुग्ने बताउँदै पर्याप्त अक्सिजनको व्यवस्था मिलाउन सुझाव दिनुभयो । उहाँले निर्धारित समयमा औषधि, जुनसुकै बेला तातोपानी र आवश्यकता अनुसार चिकित्सक तथा नर्सको सेवा उपलब्ध गराउन सके सरकारी कोभिड अस्पतालप्रति जनविश्वास बढ्ने बताए ।


    क्याटेगोरी : कोरोना अपडेट, समाचार

    प्रतिक्रिया दिनुहोस