• जीवनशैली | Jiwanshaili
  • बाँकेमा तीनजना गर्भवतीको सफल शल्यक्रिया


    बाँके । बाँकेका दुई अस्पतालमा तीनजना गर्भवतीको सफल शल्यक्रिया गरिएको छ।

    भेरी अस्पतालमा एक र नेपालगंज मेडिकल कलेजमा दुई गरी तीन गर्भवतीको शल्यक्रियाबाट बच्चा जन्माइएको हो। भेरी अस्पतालका स्त्रीरोग विशेषज्ञ डा नवीन बुढाथोकी नेतृत्वको टिमले बर्दिया बढैयाताल गाउँपालिका–१ की २६ वर्षीया संक्रमित महिलाको शल्यक्रियामार्फत बच्चा निकालेको हो।

    चार वर्षअघि पनि उनको शल्यक्रियाबाटै बच्चा निकालिएको थियो। सात दिनअघि कोरोना संक्रमण भएर महिला होम आइसोलेसनमा बसेकी थिइन्। बच्चा र आमा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको डा बुढाथोकीले जानकारी दिए।

    यस्तै नेपालगन्ज मेडिकल कलेजमा दुई संक्रमितको शल्यक्रियामार्फत बच्चा निकालिएको थियो। अस्पतालका सहनिर्देशक डा नितेश कनोडियाका अनुसार भूमी–४ रुकुमकी ३२ वर्षीया महिलाको पीसीआर रिपोर्ट पोजेटिभ आएपछि २० गते रातिदेखि अस्पताल भर्ना भएकी थिइन्। उनलाई कोभिडको लक्षण थिएन।

    प्रसूति व्यथासमेत लागेको थिएन। तर बच्चा जन्मने समय भने एकहप्ता पार भइसकेको थियो। अवस्था जटिल हुन सक्ने आंकलनमा शल्यक्रियामार्फत बच्चा निकालिएको शल्यक्रियामा संलग्न स्त्री रोग बिशेषज्ञ डा.कविता सिन्हाले बताइन्। आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको डा सिन्हाले बताइन्।

    एक हप्ताकै अन्तरमा मेडिकल कलेजमा तीन जना संक्रमित सुत्केरी भएका छन्। सुर्खेत भेरीगंगा नगरपालिका–११ की २२ वर्षीया गर्भवतिको नर्मल डेलिभरी भएको थियो भने नेपालगन्ज उपमहानगरपालिका–६ की ३२ वर्षीया संक्रमितको शल्यक्रियामार्फत बच्चा निकालिएको थियो।

    मेडिकल कलेजमा अहिले तीन जना संक्रमित सुत्केरी छन्। नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा शल्यक्रियामार्फत सुत्केरी भएकी नेपालगन्जकै महिलालाई कोहलपुर सारिएको छ। ती महिलामा शल्यक्रियामार्फत बच्चा निकालिएपछि रिपोर्ट पोजेटिभ आएको थियो। अस्पतालमा उपचाररत उनीहरु सबैको अवस्था सामान्य छ।


    क्याटेगोरी : कोरोना अपडेट, समाचार

    प्रतिक्रिया दिनुहोस